महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन: सिटौला

कार्तिक २४, २०७८,

काठमाडौँ, २४ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।

कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि उनले पार्टीका नेता-कार्यकर्तालाई आह्वान गरे ।

बुधबार काठमाडौँको शान्ति वाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता-कार्यकर्तालाई सफलता मिलोस् भनी कामना समेत गरे ।

“२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी हामीले निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ । तर, एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन,” उनले भने, “यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर । तर, प्रतिस्पर्धा गर्नु छ । स्वच्छ प्रतिस्पर्धा गर्नु छ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नु छ । र, प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा नेपाली कांग्रेसलाई उतार्नु छ । यसका लागि तपाईँ सम्पूर्ण साथीहरूलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् । प्रतिस्पर्धापछि पार्टीभित्र गर्ने सम्पूर्ण एकतामा पनि सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।”

नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह समेत गरे । उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याए ।