कांग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान सुरु

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

देउवालाई तेस्रो, चौथो र पाँचौ स्थानमा आएका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सघाउने भएका छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो । मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।