पर्थविरूद्ध सन्दीपले लिए एक विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सिजनको बिग ब्यास लिगको आफ्नो तेस्रो खेलमा एक विकेट लिएका छन्।

मंगलबार पर्थ स्कोरचर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले चार ओभरमा एक विकेट लिँदा ३२ रन खर्चिए। उनले ६ बल डट फ्याँक्दा ३ चौका र १ छक्का दिएका थिए।

सन्दीपले आफ्नो स्पेलको पहिलो बलमै जोश इंग्लिसलाई २ रनमा क्याच गराए। त्यसपछि भने उनले विकेट लिन सकेनन्। छैटौं ओभरमा बलिङ आएका सन्दीपले सो ओभरमा ५ रन खर्चिएका थिए।

आठौं ओभरमा १० खर्चिएका सन्दीपले अन्तिम बलमा छक्का दिएका थिए। १३ ओभरमा सन्दीपले २ चौकासहित ११ रन दिए। यस्तै १६ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका सन्दीपले एक चौकासहित ७ रन खर्चिए।

यसअघि सन्दीपले पहिलो खेलमा सिड्नी सिक्सर्सविरूद्ध १ विकेट लिँदा २४ रन खर्चिएका थिए।

दोस्रो खेलमा भने सन्दीप अभागी साविक बनेका थिए। सिक्सर्सविरुद्धकै दोस्रो खेलमा सन्दीपको बलमा तीन क्याच र एक स्टम्पपिन छुटेको थियो। जसका कारण सन्दीपले २४ रन दिँदा विकेटबिहीन बनेका थिए।

मंगलबार होबार्टविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पर्थले ५ विकेटको क्षतिमा १८२ रन जोडेको छ।

पर्थका लागि मिचेल मार्सले शतक प्रहार गरेका छन्। नटआउट १०० रन जोडेका उनले ६० बल खेलेर ६ चौका र ५ छक्का प्रहार गरे।

बलिङमा होबार्टका नाथन इल्सले २ विकेट लिँदा सन्दीप, स्कट बोलान्ड र जोइल पेरिसले एक एक विकेट लिए। सेतोपाटी