के माओवादीको पुनर्जीवन सम्भव छ ?

‘हामीले हाम्रो इतिहास र विरासतलाई बिर्सिन थालेका हौँ की, अरु बुर्जुवा पार्टी जस्तै हाम्रो पनि नकरात्मक रूपान्तरण हुन थालेको हो कि ? सबैभन्दा पहिला हामीले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्न जरुरी छ । भेडासँग हिँड्दाहिँड्दै भेडा भइयो कि भन्या जस्तो लाग्छ कहिलेकाहीँ । हामी भेडा होइनौँ, हामी सिंह नै हौँ । हामी सिंह जस्तो गर्जिनुपर्छ,’ प्रचण्डले ६ पुसमा प्रदेश सम्मेलनको संयुक्त रूपमा उद्घघाटन गर्दै पार्टी रूपान्तरण र पुनर्जागरणको अपिल गरेका थिए । ११ देखि १३ पौषसम्म हुने राष्ट्रिय सम्‍मेलनमार्फत पनि उनले पार्टीलाई पुर्नजागरणको अपिल गर्ने भएका छन् ।

आफ्नो राजनीतिक प्रतिवेदनमार्फत गल्तीहरूको आत्मसमीक्षा गर्ने, पार्टीलाई गतिशील र जीवन्त पार्टीको रूपमा पुनर्संगठित गर्ने र क्रान्तिकारी विचारको निर्माण गर्दै पार्टीको साख फर्काउन कार्यकर्तालाई अपिल गर्ने तयारी प्रचण्डको छ । जनयुद्ध र जनआन्दोलनको समयमा उठाइएका पहिचान र अधिकारलाई स्थापित गरिछाड्ने संकल्प प्रतिवेदनमार्फत गर्ने प्रचण्डको तयारी छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीलाई पुनर्ताजगी गर्ने विषयमा गम्भीरतापूर्वक समीक्षा हुने बताउँछन् । ‘पार्टी विभाजन हुनुमा विचारको अभाव पनि कारक हो । राष्ट्रिय सम्मेलन क्रान्तिकारी विचार निर्माण गर्दै संगठनलाई पुनर्जागरण गर्ने अवसर हो,’ उनले भने ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले क्रान्तिकारी धारबाट पार्टी विचलित भएको आरोपबारे समीक्षा गर्दै पार्टी निर्माणमा एकताबद्ध हुने विषयमा राष्ट्रिय सम्मेलन केन्द्रित हुने बताए । ‘क्रान्तिकारी बाटोमा आएका अवरोधसँग लड्ने क्रममा भएका कमजोरीबारे समीक्षा हुनेछ, जनवादी केन्द्रीयताबाट विचलित भएकोबारे आत्मसमीक्षा गर्दै एकतावद्ध ढंगले क्रान्तिकारी पार्टी निर्माण सम्मेलनको लक्ष्य छ,’ महराले भने ।

पार्टीमा क्रान्तिकारी गुणत्व कमजोर भएकाले त्यसलाई नबढाएसम्म संगठन बढाउँदैमा कुनै उपलब्धी नहुने प्रचण्डको ठम्याइ छ । ‘हामीभित्र क्रान्तिकारी गुणतत्व भनौँ, त्यो तत्व जागेर आयो भने थोरै भयो भने पनि लाखौँ करोडौँ भएको भनिएकालाई पछार्न सकिँदो रहेछ,’ प्रचण्डले भनेका छन्, ‘हाम्रो गुणतत्व कमजोर भयो, क्रान्तिकारी स्पिरिट मर्‍यो भने हामी लाखौँ भए पनि केही पनि हुँदो रहेनछ भन्ने हामीले इतिहासबाट पनि देखेका छौँ ।’

सम्मेलनबाट रूपान्तरण होला माओवादी ?

माओवादी केन्द्रलाई आन्तरिक लोकतनन्त्रलाई निषेध गरेको आरोप लाग्दै आएको छ । खुला राजनीतिमा आएको १५ वर्षपछि पनि पार्टीमा टीके प्रथा हाबी भएको आरोप माओवादीमाथि छ । प्रचण्डले पनि जनवादी केन्द्रीयताबाट विचलित भएको विषयमा आत्मसमीक्षा गर्नुपर्ने विषयलाई प्राथामिकतामा राखेका छन् ।

‘हाम्रो संगठन जस्तो खालको एकीकृत र केन्द्रीकृत हुनुपर्ने कम्प्याक्ट खालको क्रान्तिकारी संगठन हुनुपर्ने, त्यसबाट कता कता कमजोर हुँदै गएर अरू जस्तै बुर्जुवा र गुटवादी अलि अराजकतावादी अनि अलि व्यक्तिवादी, अलि स्वार्थी हुन थाल्यौँ,’ प्रचण्डले औँल्याएका छन् ।

जनवादी केन्द्रीयतालाई राष्ट्रिय सम्मेलनमार्फत नयाँ ढंगले अघि बढाउन खोजिएको माओवादी केन्द्रका नेता गजुरेल बताउँछन् । ‘पार्टीभित्र मूल्यांकन समिति बनाउँदै नेताको मूल्यांकन गर्दै केन्द्रीयताको अभ्यास गर्ने र मतदानबाट प्राप्त मतलाई समेत आधार मानेर नयाँ विधिमार्फत नेतृत्व निर्माण गरेर जनवादी केन्द्रीयतालाई नयाँ ढंगले अघि बढाउन खोजिएको छ । यो राष्ट्रिय सम्मेलनले यसलाई पारित गर्छ,’ उनले भने ।

यस्तै नेतृ पम्फा भुसालले पार्टीभित्र सहकार्यलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धालाई पनि आत्मसात् गर्ने नीति राष्ट्रिय सम्मेलनले लिने बताएकी छन् । ‘पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनका निम्ती सहकार्यलाई प्राथामिकता दिँदै प्रतिपस्पर्धालाई आत्मसात् गर्नेतर्फ अब हामी बढ्नेछौँ,’ भुसालले भनिन् ।

पार्टीभित्र विचारमा भन्दा पनि पद प्राप्तिकै विषय हाबी भएकाले राष्ट्रिय सम्मेलनमार्फत त्यस प्रवृत्तिलाई निरुत्साहित गरिने भुसालको भनाइ छ । ‘पार्टीभित्र विचारको विकास नहुनुको कारण पदमा मात्रै केन्द्रित भएर हो । कसले के पद पाउने, कसले टीकट पाउने र कसले के सुविधान पाउने बहस हाबी हुँदा विचार छायामा पर्‍यो । पार्टीलाई नयाँ शिराबाट अघि बढाउन राष्ट्रिय सम्मेलनले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नेछ,’ उनले भनिन् ।

राष्ट्रिय सम्मेलनलाई प्रचण्डले पार्टी निर्माणको अवसर चुनौतीका रूपमा लिएका छन् । पार्टीलाई थप विचलित बनाउने वा कमीकमजोरी सच्चाएर समाजवादी क्रान्तिको नेता पार्टीको रूपमा अघि बढाउने निर्णय अब गर्नैपर्ने प्रचण्डको भनाइ छ ।

‘अब तपाईं हामीभित्र देखा पर्दै गएका कमजोरी बढ्दै गएर सच्चिनै नसक्ने गरी यो पार्टी विचलित हुने हो कि ? यो पार्टीलाई कमीकमजोरी सच्चाएर एउटा क्रान्तिकारी पार्टीको रूपमा समाजवादी क्रान्तिको नेता पार्टीको रूपमा यसलाई रूपान्तरण गर्ने यस्तो दोसाँधमा हामी अहिले छौँ। हामीले यो अवसरलाई सदुपयोग गर्नैपर्छ,’ प्रचण्डको अपिल छ ।

प्रचण्डले भनेझैँ पार्टी थप विचलित हुन्छ वा क्रान्तिकारी ढंगले माओवादीले पुनर्जीवन पाउनेछ ११ देखि १३ पुससम्म चल्ने राष्ट्रिय सम्मेलनबाट पारित नीतिले नै निर्धारण गर्नेछ ।