कमरेड प्रचण्डको सिंह बन्ने रहर र आजको माओवादी केन्द्र

हिजो शनिबार माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन (महाधिवेशन)को अघिल्लो दिन काठमाडौमा पत्रकारहरुलाई सिंहको कथा सुनाउनु भयो । प्रचण्डको ‘ सिंह कथा’को आशय भनेको माओवादी केन्द्र सिंह जस्तै असली कम्युनिष्ट हो वा यस्तै खाट्टी कम्युनिष्ट बनाउने आफ्नो चाहना हो भन्ने नै हो । हरेक पार्टीका मुखियाहरुले आफ्नो पार्टी अरु भन्दा खाट्टी र सफेद भन्नुलाई अनौठो मान्नु पनि हुदैन ।
कुनै पनि राजनीतिक पार्टीको मापन भनेको उसको नाम होइन उसले गरेका काम नै हुन्छ । नाम जति सुकै समाजवादी र क्रान्तिकारी भए पनि कामका आधारमा उसको सक्कल देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई केही महशुष भएर नै अब पार्टीलाई सिंह जस्तै बनाउनु पर्ने भो भन्ने लागेको हुन सक्छ ।तर, आजको प्रश्न छ के आजको माओवादी केन्द्र सिंह बन्ने यात्रामा छ या स्यालको ? रङ्गरोगनले सिंह जस्तो बनाउने हो या वंशानुगुण सहितको सिंह जस्तै पार्टीलाई साच्चैको कम्युनिष्ट बनाउने हो ? माओवादी पार्टीको आजको सिङ्गो पहिचान भनेको उसको मार्ग निर्देशक सिद्धान्त,नीति,कार्यक्रम, संगठन, संगठक र नेतृत्व अनि उनीहरुको व्यवहार नै हो । के आजको माओवादी केन्द्रसँग मोटामोटी पार्टीलाई सिंह जस्तो बनाउन सकिने स्वरुप छ त ?पहिला यस विषयमा समिक्षा हुन जरुरी छ ।
हिजोका दिनको एउटा सामान्य उदाहरणलाई लिने हो भने संसदीय भासमा डुबेको भनिएको एमालेसँग आफुलाई एकता गराउँदा ततकालिन माओवादी पार्टीले बोकेको मार्ग निर्देशक सिद्धान्तसँग एमालेको बहुदलीय जनवादले मेल खाएको थियो वा कमरेड ओलीसँग कमरेड प्रचण्डको भावना कताकता मिलान हुन पुगेर एमालेसँग पार्टी एकता भयो एक पटक संझने पो हो कि ?
विद्रोहको उभारबाट हुर्केको पार्टी र त्यसका कार्यकर्ता र बहुदलीय जनवाद जो स्पष्ट संसदीय व्यवस्थालाई स्विकारेको पार्टी बीचको एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा )सिंह जस्तो भएको थियो कि निगाले वा स्याल जस्तो देखिएको थियो ?
आज नेपाली जनताले पाएका जे जति जनअधिकारका विषयहरु छन् ति विषयहरुको प्राप्तिका लागि तत्कालिन माओवादी पाटीको योगदानलाई कम आक्न मिल्दैन तर विस्तारै त्यो पार्टीले जन विश्वास र जनभरोसा गुमाउँदै गएको कुरा पनि सत्य हो भन्न अन्कनाउनु पर्दैन भन्ने मलाई लाग्छ ।
हिजाका दिनमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मार्गदर्शक राजनीतिक यात्रा बनाएको माओवादी एउटा समय सम्म सिंह जस्तै गर्जेको थियो । माओवादी सिंह जस्तै असली नै थियो । तर, आफुलाई सिंह हुँ भनेर दावी गर्नेले कहिले निगालेसँग कहिले स्यालसँग त कहिले आफुलाई नै सिंह हुँ कि होइन भनेर अन्यौलमा राखेकाले नै भन्नु पर्छ कहिले आफैलाई चिन्न नसक्ने बेला भएको छ ।हिजो सिंह हुदाको आफ्नो गर्जन र आजको गर्जन , हिजो अनि आजको आवाजमा पक्कै पनि कमरेड प्रचण्डले फरक भेट्नु भएकोले नै होला फेरि आफुलाई अर्थात माओवादी केन्द्रलाई सिंह जस्तै बनाउन उहाँलाई रहर लागेको हुन सक्छ ।
एउटा सत्य के हो भने संसदीय पार्टीहरुबाट दिक्क भएका जनताले परिवर्तनको सपना र अपेक्षा सहित हिजोका दिनमा माओवादी पार्टीलाई साथ दिएका थिए । कम्युनिष्टहरुकै बारेमा कुरा गर्ने हो भने जनताले माओवादी पार्टीलाई असली र केही गर्छ भन्ने लागेरनै जनयुद्धदेखि शान्तिप्रकृया हुदै चुनाव सम्म आउँदा माओवादीलाई निरन्तर साथ दिएका थिए । केही गर्छ भने माओवादीले नै गर्छ भन्ने विश्वास जनतालाई थियो तर विद्रोहको मैदानबाट खुल्ला मैदानमा आएको केही पछि देखि माओवादी पार्टीका गतिविधि र कृयाकलापले जनताको आशा सुस्तरी निराशामा ढल्कन पुग्यो अर्थात माओवादी सिंहबाट अरु केही हुन थाल्यो यो सत्यलाई पनि कमरेड प्रचण्डले एक पटक मनन गर्नु पर्छ कि आखीर किन र के कारण हामीबाट जनताको जनसम्बन्ध खुस्कदै गयो ? हामीबाट किन जन भरोसा र विश्वास क्षयीकरण हुदै गयो ?हिजोका हामी के भन्थ्योँ र आजका हामी के भन्दैछौँ भनेर अन्तरमनबाट समिक्षा गर्ने हो कि ?
मूलतः माओवादी केन्द्र साच्चैको सिंह बन्ने हो भने हेडक्वाटरदेखि सेल कमिटि सम्मका नेता र कार्यकर्ताहरुले एक पटक आफुले आफैलाई समिक्षा गर्नु अनिवार्य छ, पार्टीको मार्ग निर्देशक सिद्धान्त किटान गर्न आवाश्यक छ, नेता र कार्यकर्ताको व्यवहार , आचारण र जिवनशैलीमा आएको परिवर्तनलाई मनदेखि नै समिक्षा गर्न र रुपान्तरणका लागि तयार गर्नू जरुरी छ, पार्टी सदस्यको संख्या होइन कम्युनिष्ट सदस्यहरुमा जोड दिनु पर्छ होला । पार्टी भित्र देखिएको गुटको मौलाउँदो खेतीलाई निषेध गरेर क्षमता, लगन, निरन्तरताको कसिमा राखेर कार्यकर्ताहरुलाई जिम्मेवारी दिनु पर्छ । माओवादी हिजोको सिंह थियो तर कसैले आफ्नै ढङ्गले आजको त्यही माओवादी कताकता निगाले,कताकता स्याल जस्तो पो हो कि भन्ने भएको छ । नेकपा(माओवादी केन्द्र)को यो अधिवेशनले आफुलाई फेरि एक पटक सिंह बनाउन सफल रहोस, आम नेपाली जनताको आशा , भरोसा र सपना पुरा गर्ने पार्टीको रुपमा यसले आफ्ना कार्यक्रम ल्याउन सकोस अधिवेशनको सफलताको शुभकामना सहित!chautaripostonline/from