एकीकृत जाँच चौकीको पूर्वाधारको क्षमता विस्तार गर्न मुआब्जा बितरण शुरू

काठमाडौं,पुस १४, २०७८
वैदेशिक व्यापार सहजीकरणका लागि वीरगञ्जमा सञ्चालित पूर्वाधारको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणका लागि दोस्रो चरणको मुआब्जा बितरण शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाहबीचको ६२ बिघा जग्गाको मुआब्जा वितरण थालेको हो । यी दुई संरचनाको बीचमा रहेको जग्गा अधिग्रहण गरेर पूर्वाधार बढाउने योजना सरकारले राखेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब रुपैयाँ थप बजेट निकासा गरेपछि दोस्रो चरणको मुआब्जा बाँड्न शुरू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । गत आव २०७७/७८ मा डेढ अर्ब रुपैयाँ बाँडिएको थियो । त्यतिबेला स्थानीय ५२ जना जग्गाधनीलाई १७ बिघा जग्गाको मुआब्जा भुक्तानी गरिएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा. लालबहादुर खत्रीले जानकारी दिए । आर्थिक अभियान दैनिकमा छ ।