धुलाबारीको नम्बरी जग्गा प्रकरण: धनीपूर्जा छ, नक्सा छ तर जग्गा छैन !

धुलाबारी,
झापा मेचीनगर-१० धुलाबारीस्थित नीलकण्ठ टोलका बासिन्दाको नम्बरी जग्गा गायब भएको छ । जग्गाधनीसँग धनीपूर्जा, नक्सा सबैथोकको कानूनी प्रमाण हुँदाहुँदै पनि नापी कार्यालय झापाले जग्गा खोला (नाला) मा भएको भन्दै हाल साविक गर्न रोक लगाएको हो ।

जग्गाधनीहरुले उक्त जग्गा लामो समयदेखि भोगचलन गर्दै आएका छन् । तर, नापी कार्यालयका कारण उनीहरु जग्गाविहीन हुन पुगेका छन् । हाल साविक गर्न जाँदा नापी कार्यालयले ‘तपाईंहरुको जग्गा छैन, खोलामा पर्छ’ भन्दै न्यायका लागि अदालत जान भनेको पीडितहरु बताउँछन् ।

नीलकण्ठ टोलमा खोला (नाला) रहेको छ । उक्त नाला सरकारी नक्सामा ६० फुट कायम गरिएको छ । छेउमै २० फुटको बाटो निकालिएको छ । तर, उक्त सरकारी बाटो र नाला नक्साअनुसार कतैबाट मिचिएको देखिँदैन ।

आफूहरुले भोगचलन गरिरहेको जग्गाको धनीपूर्जा र नक्साका आधारमा जग्गा हुनुपर्ने माग गरेका छन् । उनीहरुका अनुसार त्यस ठाउँमा हाल साविक गर्ने नाममा जग्गा अरुले नै मिचेर आफूहरुको जग्गा खोलामा पुर्याएको बताएका छन् ।

नीलकण्ठ टोलमा १० कट्ठा जग्गा गायब अर्थात खोलामा पारिएको छ । स्थानीय चन्द्रकला पौडेलको १० धूर, खेमराज ओझाको १२ धूर, नगेन्द्रकुमार तामाङको १ कट्ठा ३ धूरलगायत अन्य स्थानीयको जग्गा अहिले छैन । उनीसँग केवल धनीपूर्जा र नक्सा मात्रै छ ।

धनीपूर्जा र नक्साको प्रमाण भएपछि हाल साविक गरिदिन मेचीनगर नगरपालिका वडा नम्बर १० को कार्यालयले सिफारिस पत्र दिएको छ । त्यस्तै, मालपोत कार्यालय झापाले पनि प्रचलित कानून तथा नक्सा नापजाँच ऐन, २०१९ बमोजिम नापनक्सा र हाल साविक गरिदिन नापी कार्यालयलाई पत्र पठाएको छ । तर, नापी कार्यालयले ‘नभएको जग्गाको हाल साविक कसरी गर्ने’ भन्दै तीन वर्षदेखि झुलाएको जग्गाधनी नगेन्द्रकुमार तामाङले बताए ।

उनले सबै कागजात हुँदाहुँदै पनि आफूहरुको जग्गा कहाँ गयो त ? भन्दै प्रश्न गरे । ‘हामीसँग धनीपूर्जा छ, नक्सा छ, तर जग्गा चाँहि खोलामा छ भन्न मिल्छ ?’ उनले प्रश्न गरे । उनले नापी शाखाले पैसा खाएर नयाँ नक्सामा मनपरी गरेको आरोप लगाए ।

पैसा खुवाएर कसैको जग्गा बढाइदिएको त कसैको खोलामा धकेल्ने काम गरेको जग्गाधनी चन्द्रकला पौडेलले बताइन् । उक्त क्षेत्रमा नापी शाखाका अमिनहरु आएर बेला-बेला जग्गा नाप गरेको तथा नयाँ नक्सा जारी गर्दा मनपरी गरेको जग्गाधनीहरुको भनाई छ ।

अहिले उक्त टोलमा जग्गाको समस्या पेचिलो बनेको छ । भोगचलन गर्दै आएको जग्गा अरुकोमा सरेको त कसैको खोलामा परेको मात्रै छैन । धेरै लगानी गरेर बनाइएका घर तथा संरचनाहरु अरुकै जग्गामा परेपछि सार्ने वा भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ । नापी कार्यालयका कर्मचारीले मनपरी ढंगबाट नक्सा तयार गरिदिँदा थप समस्या हुँदै गएको स्थानीयले बताए ।

नापी कार्यालय झापाका कार्यालय प्रमुख दुर्गादास महर्जनले पश्चिमबाट जग्गा ठेलिँदै गएकाले जग्गा खोलामा पुगेको बताए । उनले जग्गावालाले जग्गा किनेर भोगचलन गरेको भए पनि अहिले आएर त्यो जग्गालाई नम्बरी भन्न नमिल्ने बताए ।

‘साविकमा बाटो नभएको ठाउँमा बाटो बन्यो । बाटो बनिँदै गर्दा उहाँहरुको जग्गा स्वतः ठेलिने नै भयो,’ उनले भने, ‘यो हाम्रो कमजोरी होइन । उहाँहरुले त्यो बेला ख्यालै गर्नु भएन ।’

कार्यालय प्रमुख महर्जनले कानुनी रुपमा ती जग्गाहरु उहाँहरुको भन्न नमिल्ने बताए । जग्गाको विषयमा मालपोत कार्यालयलाई पनि जानकारी गराएर रोक लगाउन भनेको उनले बताए ।

महर्जनले जग्गाधनीहरुलाई न्यायका लागि अदालत जान पनि उनले सुझाए । अदालतले जे निणर्य गर्छ, त्यसलाई मान्नुको विकल्प नरहेको उनले बताए । जग्गाका विषयमा भइरहेको विवादका कारण आफूहरुको ‘टाउको दुखाई’ बनेको महर्जनले बताए । यस्ता थुप्रै ठाउँमा विवाद रहेको उनको भनाई छ ।