क्रसर उद्योग बिना दर्ता संचालनमा : खोलामै स्काभेटर

माघ १० २०७८झापा,/ झापामा संचालित क्रसर उद्योग बिना दर्ता संचालनमा रहेको पाइएको छ ।

यहाँ रहेका दुई दर्जन त्यस्ता उद्योग मध्ये १२ बटा मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छन् । तर यसरी दर्ता भएका कुनै पनि नवीकरण भएका छैनन् । घरेलुमा दर्ता भएकामध्ये सातवटा क्रसर मात्र सञ्चालनमा छन् ।

दुई दर्जनहाराहारी क्रसर दर्ताविनै र कहीँ जानकारी नदिई अवैध ढंगले चलेको तथ्य सार्वजनिक भएको छ ।

दर्ता भएर पनि नवीकरण नभएका क्रसर मापदण्डमा चलेका छैनन् ।

सरकारले जारी गरेको ढुंगा, गिटी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँच–पाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोला किनारामा छन् ।

झापाको बिरिङ, टाङटिङ र मावा खोलाका किनारामा यस्ता धेरै क्रसर उद्योग छन् । उनीहरूले ‘स्टक’ प्रमाणित पनि नगरी काम गर्दै आएका छन् ।

खोलामै स्काभेटर

मनपरी तरिकाले खोला खनेर नदीजन्य पदार्थको दोहन गरेको पाइएको छ । खासगरेर झापाको अर्जुनधारास्थित खोलानालामा खोला तस्करहरुको हालीमुहाली चल्ने गरेको छ । अर्जुनधारामा मात्र आधा दर्जन खोलानाला छन्, जहाँबाट अनियन्त्रित तवरले बालुवा गिट्टी निकाल्ने गरिएको भेटिएको छ ।

यसैक्रममा अर्जुनधारास्थित टाङटिङ नदी जलाधार क्षेत्रका वासिन्दाले मनपरी र विना नियन्त्रण खोला खनेपछि रोकेका छन् । उनीहरुले नगरपालिकाका दवाब दिएर छलफल गराएपछि खोलाका तस्करहरु उकालो लागेका छन् । अहिले उनीहरुले त्यो ठाउँ छाडेर नेते खोलामा खनिरहेका छन् । नियमबिपरीत खोलामा स्काभेटर नै प्रयोग गरेर सयौं ट्रिपर बालुवा गिटी निकालिरहेको प्रमाण छ ।