जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम : आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।