दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

काठमाडौँ — राष्ट्रिय टिममा पुर्नआगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । यस्तै नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको यो पहिलो पल्ट हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि दशरथ रंगशालामा जित आत्मसात् गरेको यो पहिलो पल्ट हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् । यस जितपछि नेपालको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा लगातार २३ खेलको जितहीन यात्रामा पूर्ण विराम लगाएको छ ।

विमलले ५५ औं मिनेटमा गोल गरेका हुन् र यो उनको व्यक्तिगत नवौं गोल हो । उनले अन्तिम पटक सन् २०१९ मा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपमा ढाकामा गोल गरेका थिए । यस्तै उनले नेपालका लागि अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेलेका थिए । प्रतिबन्ध र चोटका कारण उनी तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहे ।

घुँडाको चोटबाट मुक्त हुन शल्यक्रिया गरेपछि उनी विमल पुरानो लय समाट्ने प्रयासमा छन् । त्यसयता पहिलो पल्ट नेपालका लागि खेलिरहेको विमलले मोरिससका तीन डिफेन्डरबीच प्राप्त बललाई पोस्टको दिशा दिए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका थिए । यस खेलबाट विमलसँगै जगजित श्रेष्ठ र दिनेश राजवंशीले राष्ट्रिय टिममा पुर्नआगमन गरेका छन् ।

जगजितले सात वर्षपछि नेपालका लागि खेले । अस्ट्रेलिया जान अगाडि उनले सन् २०१५ मा अन्तिम पटक नेपालका लागि खेलेका थिए । निराशाजनक पहिलो हाफमा दुवै टिमले खासै उल्लेखनीय आक्रमण बुन्न सकेनन् । दोस्रो हाफको सुरुमै मोरिससको फर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यस्तै दोस्रो हाफमै अञ्जन र जगजित श्रेष्ठको प्रहार मोरिससको पोस्टमा लागेको थियो । नेपालका लागि सुदीप गुरुङ र आकाश बुढामगरले डेब्युको अवसर पाए । मोरिससले अपेक्षा भन्दा बढी नेपाललाई जितका लागि संघर्ष गर्न बाध्य गरेको थियो । मोरिससले साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको हो । अब दुई टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल मंगलबार दशरथ रंगशालामा हुनेछ ।

नेपाली टिम : किरण लिम्बू, गौत्तम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी (सुदीप गुरुङ), सुमन लामा (विशाल राई), तेज तामाङ (आकाश बुढामगर), अञ्जन विष्ट (सुजल श्रेष्ठ), विमल घर्तिमगर (मनीष डांगी), सुनिल बल (जगजित श्रेष्ठ) ।