रहिनन् हराएका छोरालाई ४० वर्षपछि भेटेकी धनमाया

इलाम । गत वर्ष चैत ८ गते ।

नेपालका राष्ट्रिय मिडियाको ध्यान इलामको माई नगरपालिका-१० लुम्बाकस्थित एउटा सामान्य घरमा थियो। भिरालो जमिनमा अडिएको त्यो घरको भौतिक बनावट वरिपरिका अरू घरजस्तै सामान्य थियो। त्यही घरमा कैयौं हिउँद र बसन्त काटेकी धनमाया तिम्सिनाको प्रतीक्षा भने असामान्य थियो।

त्यो दिन उनको ४० वर्ष लामो एउटा प्रतीक्षा सकिएको थियो। बिना सुनुवाइ चार दशकसम्म भारतको पश्चिम बंगालका विभिन्न जेलमा राखिएका उनका जेठा छोरा दुर्गाप्रसाद त्यही दिन घर आइपुगेका थिए।

आमा-छोराको त्यो मिलन बिरलै हुने घटनामध्ये थियो।

जेठा छोरालाई फेरि भेटेको एक वर्ष नपुग्दै धनमायाले आज संसार त्यागेकी छन्। उनी ८७ वर्षकी थिइन्।

उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै निधन भएको हो।

‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए। म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले भने,‘हजुरआमा त आज बिहान बितिहाल्नुभएछ। ठूलोबुवा र म अहिले झापा पुगेका छौं।’

दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन्। चार दशक जेलमा बिताएकाले होला उनलाई गाउँमा निकै गाह्रो भयो। गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो।

‘ठूलोबुवा र हजुरआमालाई अन्तिम पटक भेटाइदिम् भनेर आएको थिएँ। हामी बाटैमा हुँदा उहाँ बितिहाल्नुभयो,’ गोपालले भने,‘सायद लेखेको रहेनछ!’

चार दशकदेखि अन्यायपूर्ण तरिकाले जेलमा राखिएका दुर्गाप्रसादलाई तत्काल पाँच लाख भारू क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले केही साताअघि पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो।

गत मंसिर २२ गते  अदालतले छ साताभित्र तिम्सिनाको खातामा पैसा हालिसक्नु भनेर आदेश दिएको भए पनि उनले अहिलेसम्म पैसा पाएका छैनन्।

‘कलकत्तास्थित नेपाली वाणिज्य दूतावासका सरहरूले खाता प्रमाणित गरेपछि १/२ दिनमा हुन्छ भन्नुभएको थियो। मैले खाता प्रमाणित गरिसकें तर अहिलेसम्म पैसा आएको छैन’ गोपालले भने।

‘आमा हजुरको जेठो छोरा घर आउनुभयो नि?’

आइतबार दिउँसो ८६ वर्षीया धनमाया तिम्सिनालाई यसो भन्दा उनले जवाफमा यत्ति भनिन्, ‘राम्रै भयो।’

धनमाया त्यति बेला घरको आँगनमै थिइन्। आँगनमा कुखुराहरू खोस्रिरहेका थिए। इलामको माई नगरपालिका-१०, लुम्बाकस्थित उनको घर रङ उडिसकेको टिनले छाएको थियो। आँगनको छेउमा कालो कराई घोप्ट्याएर सुकाइएको थियो। काठमाडौंबाट गएका पत्रकारहरूसँगै त्यहाँ छरछिमेकीको ठूलै भीड लागेको थियो।

चारआली-इलाम सडक खण्डको भालुखोपदेखि १३ किलोमिटर टाढा कच्ची बाटोछेउ पर्ने उनको घरमा त्यति टाढाबाट यति धेरै मानिस भेला भएको सायद यो पहिलोपटक हो।

त्यो भीडमा धनमायालाई न गाउँमा दिनहुँ देखादेख हुने परिचित अनुहारहरूको वास्ता थियो, न समाचारका लागि झुम्मिएका हामीजस्ता नौला अनुहारको।

बुढ्यौलीले मुर्झाएका उनका आँखा बिजुलीझैं चम्केका थिए जेठा छोरा दुर्गाप्रसादलाई देखेर, जो ४० वर्षअघि उनका आँखा छलेर ओझेल भएका थिए।

भनिन्छ- आमाबुवाले छोराछोरीलाई कति माया गर्छन् भन्ने थाहा पाउन आफैं आमाबुवा हुनुपर्छ। हुर्काएर जवान बनाएको छोरा बुढ्यौली लागेर घर फर्किँदा मनमा उर्लेको भाव धनमायाले सायद शब्दमा व्यक्त गर्न सकिनन्। हाम्रा कति भाव हामी शब्दमा व्यक्त गर्न सक्दैनौं, अनुहारको रङमा मात्र देखिन्छन्। कति भाव त अनुहारमा पनि व्यक्त हुँदैनन्।

चालीस वर्षपछि घरको आँगन टेकेका छोरालाई देख्दा धनमायाको प्रतिक्रिया यस्तै थियो।

न उनले बोल्न सकिन्, न अनुहारको भावले खुसी प्रकट गरिन्।

यतिका वर्षदेखि ममताको जुन भाव धनमायाले आफ्नो साडीको सप्कोमा गाँठो पारेर कसेकी थिइन्, ती भावहरू खहरेझैं उनका आँखाबाट उर्लिँदै थिए। आँखालाई मनको ऐना यसै भनिएको होइन!

ढाका टोपी लगाएका दुर्गाप्रसाद थरथर कामेजसरी हिँड्दै जसै धनमाया बसेको खाटमा आएर उनकै छेउ थपक्क बसे, धनमाया भावशून्य भइन्, शब्दविहीन भइन्।

उनका आँखाले भने केही पल झिम्किनै बिर्से।

धनमायाले यस्तरी हेरिरहिन्, सायद पहिलोपटक रगतमा लत्पतिएका नवजात दुर्गाप्रसादलाई आफ्नो काखमा पाउँदा उनले त्यसरी नै हेरेकी थिइन्।

आमाछोराको यो ४० वर्षपछिको भेटलाई हामी धनमायाका आँखामा पछ्याउँदै थियौं।

केही बेरको मौनपछि उनको बोली फुट्यो, नाति दीपकसँग भनिन्, ‘यो त सुन्निएछ, जताततै मासु नै मासु छ। जाँदाखेरि तँजस्तै थियो दुब्लो।’

धनमायालाई प्रस्टै याद छ, दुर्गाप्रसाद हलो जोत्ने उमेरको भइसकेका थिए। उनीपछिका भाइबहिनी भने सानै थिए। बाबु बितिसकेकाले खेतीपातीको जिम्मा धनमाया र जेठो छोराको काँधमा थियो। त्यही समय गाईले हानेर धनमायाको हात कुइनामुनि काट्नुपर्‍यो।

‘सधैं देश जान्छु, देश जान्छु भन्थ्यो, एकदिन त मलाई थाहै नदिइकन गइगएछ,’ धनमायाले आफ्नो हात देखाउँदै भनिन्, ‘मेरो हात यस्तो, हलो जोत्ने उमेरको छोरो घरबाट बेपत्ता भएपछि मैले गोरू पाल्नै छाडिदिएँ।’

यति मात्र होइन, जेठो छोरा घर छाडेर हिँडेपछि उनलाई अरू लालाबाला हुर्काउन हम्मेहम्मे नै पर्‍यो।

त्यति बेला उनीहरू इलामकै एकतप्पामा बस्थे। आफन्तहरू लुम्बाकमा थिए। श्रीमानको मृत्यु र जेठो छोरा बेपत्ता भएपछि आफन्तहरूले धनमायालाई पनि लुम्बाकमै डाके।

उनी नाताको डोरी समातेर, एकतप्पाको जायजेथा बेचबिखन गरी, लालाबाला च्यापेर लुम्बाक बसाइँ सरिन्।

‘एकतप्पाको जग्गा किनिदिने मान्छे पाउन पनि मुश्किल भयो। धौधौले १० हजारमा बेचेर यहाँ आएका हौं,’ उनले भनिन्।

लुम्बाकमा आएर पनि उनले सुख चाहिँ पाइनन्। अर्काकोमा काम गरेर छोराछोरी हुर्काइन्। अहिले जुन घरमा बस्दै छिन्, त्यो जग्गा पनि निकै वर्षपछि मात्र किनेकी हुन्।

धनमाया खासमा आठ छोराछोरीकी आमा हुन्, तर पछिल्ला वर्ष उनलाई आमा भन्ने चार जना मात्र थिए। माइला छोराको अघिल्लो मंसिरमा मृत्यु भएपछि तीन जना मात्र बचेका थिए। दुर्गाप्रसादको फिर्तीपछि उनलाई आमा भन्नेहरूको संख्या फेरि चार नै पुगेको छ।

यी ४० वर्षमा उनले आफ्नो एउटा विश्वास कहिल्यै मर्न दिइनन्- जेठो छोरा एकदिन अवश्य फर्केर आउनेछ भन्ने विश्वास। उनी गाउँलेहरूलाई सधैं भन्थिन्, ‘मरेको मान्छेको पो आउने बाटो हुँदैन, बाँचेको मान्छे आउन त जति पनि बाटा छन्।’

उनले हामीलाई पनि त्यही कुरा सुनाइन्, ‘मरेको छैन भने एकदिन पक्कै आउँछजस्तो लाग्थ्यो।’

सायद यो धनमायाको ममताकै शक्ति हो, जसले यतिका वर्ष बिनाकसुर भारतका विभिन्न जेलमा थुनिनुपर्दा पनि दुर्गाप्रसादको मनोबल टुट्न दिएन।

उनी दार्जिलिङमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका थिए। अदालतले उनलाई दोषी करार कहिल्यै गरेन। दोषी त परको कुरा, उनलाई कहिल्यै अदालतमा पेसधरि गरिएन। भारतीय प्रशासनको लापरबाहीका कारण दुर्गाप्रसादले अनाहक जिन्दगीको लामो ऊर्जाशील उमेर जेलमा बिताउनुपर्‍यो।

‘हजुरको छोराले मान्छे मार्नुभयो होला त?’ हामीले आमाको मन चोर्न खोज्यौं।

धनमायाले सिन्का बराबर संकोच मनमा नराखी तुरून्तै जवाफ फर्काइन्, ‘यसले काँ मान्छे मार्नु, निकै सोझो थियो।’

यसो भन्दा उनका आँखा दुर्गाप्रसादतिरै एकटक थिए।

यतिञ्जेल दुर्गाप्रसाद लगभग मौन थिए। कर गरेर बोल्न लगाउँदा भासिएको स्वरमा एक-दुई शब्द बोल्थे, फेरि चुप्पै लाग्थे।

उनको मुख मात्र होइन, आँखा पनि मौन थियो। उनले यसबीच कसैका अनुहार हेरेनन्।

धनमाया भने घरि यता हेर्थिन्, घरि उता।

फोटो खिच्न र भिडिओ बनाउन आएका पत्रकारले ‘यता हेर्नुस्, उता हेर्नुस्’, ‘यसो गर्नुस्, उसो गर्नुस्’ भन्दा उनी लजाउँदै, दिक्क मानेझैं गर्दै भन्थिन्,’के साह्रो, अनेक-अनेक गर्नुपर्दो रैछ हो!’

कान अलि कम सुन्ने धनमाया आँखा भने राम्ररी देख्छिन्। बेलाबेला उनको काटिएको दाहिने हात बेस्कन दुख्छ। छोराछोरीका लागि उनले बायाँ हातैले काम गरिन्, तर हरेस खाएर सक्दिनँ कहिल्यै भनिनन्।

‘गरियो नि हो सबै काम, तर ८५ पूरा गरेर ८६ लागेपछि मान्छे बूढो हुँदो रैछ,’ धनमायाले भनिन्, ‘योपालि सकिनँ काम गर्न, गोडाले पनि बेलाबेला निहुँ खोज्छन्।’

उनले केही दिनअघि सुन्निएका गोडा देखाइन्। उनका गोडामा फरक-फरक रङका मोजा थिए। ती पनि च्यातिएर थोत्रा भइसकेका। आफ्ना गोडा देखाइसकेपछि उनले फेरि दुर्गाप्रसादतिर हेरिन्।

वरिपरिका सबैले कर गरेपछि दुर्गाप्रसादले सुस्तरी ‘आमा’ भने।

सबैले ‘अलि बेस्सरी भन्नू न’ भने।

दुर्गाप्रसादले सबैले सुन्ने गरी भने, ‘आ…मा।’

जेठा छोराले आमा भनेको सुनेर चाउरी परिसकेको धनमायाको अनुहार चमक्क चम्कियो। उनी मुस्कुराइन्। सायद पलभरमै आफ्नो ज्यान गलेको, हात दुःखेको र गोडाले ‘निहुँ खोजेको’ चटक्कै बिर्सिइन्।

‘यसलाई त्यो रेल, बस सुबेनजस्तो छ, त्यही भएर यस्तो भयो,’ उनलाई आफ्नोभन्दा छोराकै चिन्ता थियो, ‘उपचार गर्न पर्दैन, अब यो आफैं निको हुन्छ।’

साना हुँदा केटाकेटीलाई खोले खुवाएको सम्झिँदै धनमायाले भनिन्, ‘अहिले पनि हामी खोले खाँदै छौं। छोरालाई पनि त्यही पकाएर खुवाउँछु।’

‘मेरो छोरालाई बिहे गर्ने उमेरभरि बिनाकारण जेल राखेर बूढो बनाएर पठाउनेहरूलाई राम्रो होला त!’ धनमायाले अगाडि भनिन्, ‘पाप लाग्छ तिनीहरूलाई।’

हुन त छोराछोरी जतिसुकै बढून्, आमाको मन आमाकै हुन्छ। तर यो उमेरमा मनले मात्र होइन, शरीरले पनि उस्तै फुर्तिलो र जोधाहा आमा बन्ने चुनौती धनमायामाथि छ।

‘८६ वर्ष हुनुभयो। फर्केर हेर्दा जिन्दगी कस्तो भोग्नुभयो आमा?’ हामीले सोध्यौं।

‘जिन्दगी यस्तै हो, आफ्नो दुःख अर्काले लैजाँदो रैनछ,’ उनले यति गह्रौं कुरा पनि सजिलै भनिदिइन्। सेतोपाटीबाट