विश्व स्वास्थ्य संगठनले दियो स्वास्थ्य सामग्री

काँकरभिट्टा । मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले सहयोग स्वरुप प्रदान गरेको स्वास्थ्य सामाग्री सोमबार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

काँकरभिट्टा हेल्थ हेल्प डेक्स परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सुभेक्षा सुवेदी, इडीसीडीका डाक्टर अमृत पोखरेलले हस्तान्तरण गरेका हुन् ।

आइओएमका राकेश यादव, एचडीआइका भोलामान थापासहितको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो । उक्त समाग्री काँकरभिट्टा हेल्थ हेल्प डेक्समा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा आइओएमबाट काँकरभिट्टा हेल्थ हेल्प डेक्सका लागि मेचीनगर नगरपालिकासँग समन्वय गरी थप अत्यावश्यक सामग्री, सार्वजनिक शौचालय, खानेपानी तथा अन्य सहयोग गर्ने बताइएको छ ।