नगरपालिकाको गाडीले दिएको ठक्कर प्रकरण:मृतकको परिवार आश्वासन बाहेक केहि पाएनन् !

मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती चढ्ने सवारीले ठक्कर दिएर मृत्यु भएका सन्तोष राजवंशीको परिवारले आश्वासन बाहेक केही पाउन सकेको छैन ।

मृत्यु भएको पाँच दिन बितिसक्दा पनि मृतकको परिवार त्यही आश्वासनको भरमा किरिया कर्ममा छ । सञ्चारकर्मीको टोली मृतकको घर मेचीनगर-७ पुग्दा मृतक राजवंशीको परिवार शोकमा डुबेको थियो । मृतकका बुवा धर्म राजवंशी नगर प्रमुख विमल आचार्यको आश्वासनका भरमा बसेका छन् ।

मृत्यु भएको भोलिपल्ट उपप्रमुख मीना उप्रेती पनि परिवारलाई सान्तवना दिन पुगेकी थिइन् । मृतकका बुवाले छोरो गुमाउनु परेको पीडा भुल्न सकेका छैनन् । तर पनि दैवको लीला छोरो गुमाएपछि उनले बुहारी र छोरोछोरीको लालनपालनमा नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

मृतक सन्तोषकी श्रीमती पार्वती, छोरा विकास र छोरी बेवी राजवंशी छन् । छोरो ११ वर्षका छन् भने छोरी ९ वर्षकी छिन् । श्रीमती पार्वतीको नेपाली नागरिकता छैन । उनी सामान्य साक्षर मात्रै हुन् ।

मृतकको परिवारले पार्वतीको नागरिकता बनाइदिएर नगरपालिकामा जागिर दिनुपर्ने र छोराछोरीको पढाइ खर्च व्यहोर्नु पर्ने बताएको छ । उक्त माग नगरपालिकाले पूरा गरिदिने बताएको मृतकका बुवा धर्म राजवंशीले बताए । ‘हामी सामान्य परिवारका मान्छे हौँ हजुर,’ उनले भने, ‘छोरो त बितेर गयो । बुहारी र छोराछोरीको भविष्य त नगरपालिकाले हेरिदिनु पर्यो नि !’

मृतक राजवंशी घर मिस्त्रीको काम गर्दै आएका थिए । त्यसैबाट घरपरिवार चल्दै आएको थियो । उनी त्यस दिन पनि कामकै सिलसिलामा काँकरभिट्टाबाट घर फर्किदै थिए । तर, माघ १२ गते ७ बजेतिर मोटरसाइकलमा सवार हुँदै गर्दा उपप्रमुख उप्रेती चढ्ने गरेको गाडीले ठक्कर दिँदा सन्तोषको घटनास्थलमै मृत्यु भयो । अर्थात सदाका लागि उनी घर फर्किएनन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा सन्तोषलाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएर घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो । घाइतेलाई अस्पतालले ७ बजेर ३० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी, गाडी चालक मेचीनगर-७ स्थित आयाबारीका राजकुमार प्रधान र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छ । घटना भएको दिन उपप्रमुख राष्ट्रिय सभाको चुनावमा मतदान गर्न विराटनगर गएकी थिइन् ।

उनी उतै बसेकी थिइन् भने चालक प्रधानले गाडी लिएर घर फर्कदा दुर्घटना भएको नगरपालिकाले जनाएको छ । गाडीमा एमालेका नगर अध्यक्ष राजु पोखरेल सवार थिए । उनलाई पुर्याउन उक्त गाडी काँकरभिट्टा आउँदै थियो ।

नगरपालिकाको गाडीले ठक्कर दिँदा मृत्यु भएपछि सर्वत्र विरोध भइरहेको छ । त्यस दिन पनि उपप्रमुख नगरपालिकाको गाडी लिएर विराटनगर जानु ठीक नभएको भन्दै आलोचना भएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न सरकारी गाडी लिएर जानु राम्रो सन्देश नदिएको राजवंशी समुदायका एक अगुवाले बताए । ‘गाडी लिएर जान सक्ने हैसियत भएका जनप्रतिनिधिले सरकारी गाडी र सरकारी इन्धन किन दुरुपयोग गर्नू ?’ उनले प्रश्न गरे ।

सवारी इन्धन खर्च मासिक ७ लाख

मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार पुस महिनामा सवारी इन्धन खर्च ७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, मंसिरमा ५ लाख, कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा ३० भन्दा बढी ठूला तथा साना सवारी सञ्चालनमा छन् ।

सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धनवापत खर्च छुट्याउने गरेको छ । तर, कतिपय सवारी व्यक्तिगत काममा कर्मचारीले प्रयोग गर्दै आएका छन् । कतिपय कर्मचारीले सरकारी विदाका दिन पनि सवारी दुरुपयोग गर्दै आएका छन् ।

मेचीनगरमा ६ चक्के ९ वटा, ४ पांग्रे ७ वटा र २ पांग्रे १६ वटा भन्दा बढी सवारी सञ्चालनमा रहेका छन् । ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ । कुपन लिएर नगरपालिका कार्यालय छेउमै रहेको प्रनिक पेट्रोपम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गरेका छन् ।

इन्धन खर्चमा नगरपालिकाले मितव्ययी अपनाउन सकेको छैन । नगर क्षेत्रमा हुने सार्वजनिक कार्यक्रममा प्रमुख तथा उपप्रमुख अलग-अलग सवारीमा जाने गरेका छन् । एउटै कार्यक्रममा दुवैजनालाई निमन्त्रणा गर्दा सवारीको इन्धनमा पनि मितव्ययी गर्न सकेको भए इन्धन खर्चको व्ययभार घट्ने देखिन्छ । जन-संसद् अनलाइनबाट