चौतारीका केन्द्रीय सदस्य पौडेलले गरे एमाले परित्याग

मेचीनगर । नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका छन् ।

झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले मंगलवार एक प्रेस बक्तव्य प्रकाशित गरी नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् ।

विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिसकेका मेचीनगर-६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिस्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय थिए ।

नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवम् लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र व्यक्तिबाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले नेकपा एमालेको सदस्य एवम् प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने प्रेस वक्तव्यमा पौडेलले उल्लेख गरेका छन् ।

आगामी दिनमा विधि, पद्धति, नीति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका निमित्त क्रियाशील रहने उनले बताएका छन् ।