बिएन्डसीले कोरोना संक्रमित बिरामीसँग दैनिक उठाउँछ पिपिईको चार हजार पाँच सय

झापा । विर्तामोडस्थित बिएन्डसी अस्पतालले कोरोना परीक्षण र उपचारका क्रममा निर्धारित शुल्कको सीमा मिचेर मनखुसी असुली गरेको पाइएको छ ।

बिएन्डसी एमालेका केन्द्रीय सदस्य रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अस्पताल हो।

उक्त अस्पतालले कोरोना परीक्षण र उपचारमा जथाभावी असुली गरेको पीडित बिरामी र तिनका आफन्तले बताएका छन्।

गत सोमबार पेटमा समस्या भएर आमालाई उपचारका लागि लिएर गएका झापाको बुद्धशान्तिका रमेश अर्यालसँग अस्पतालले दुई पटक कोरोना परीक्षण गरी ३ हजार ७ सय रुपैयाँ  लियो।

अस्पतालमा भर्ना हुन आउने हरेक बिरामीका लागि कोरोना परीक्षण अनिवार्य गराएको अस्पतालले एन्टिजेन र पिसिआर दुवै विधिबाट परीक्षण गर्ने गरेको छ।

ती दुवै परीक्षणमा सरकारले तोकेकोभन्दा बढी रकम लिने गरेको छ।

सरकारले निजी स्वास्थ्य संस्थाहरूलाई कोरोनाको पिसिआर परीक्षणका लागि अधिकतम एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।

बिएण्डसीले भने पिसिआर परीक्षणका लागि दुई हजार रुपैयाँ असुलिरहेको छ। त्यस्तै सरकारले कोरोनाकै एन्टिजेन परीक्षण शुल्क १ हजार कायम गरेको छ तर बिएण्डसीले १ हजार ७ सय रुपैयाँ लिइरहेको पाइएको छ।

रमेशले अस्पतालले सबैभन्दा पहिले एन्टिजेन परीक्षण गर्न लगाएको र त्यसक्रममा १७ सय रुपैयाँ लिएको बताए।

‘रिपोर्ट नेगेटिभ आयो, अनि उपचार सुरू भयो,’ रमेशले भने ‘उपचारका क्रममा केही दिन भर्ना गर्नुपर्छ भनियो। चिकित्सकले भनेपछि हामीले मान्यौं। भर्नाको प्रक्रिया सुरू भयो।’

एन्टिजेन नेगेटिभ आएर उपचार सुरू भइसकेको बेलामा भर्नाका लागि पिसिआर रिपोर्ट अनिवार्य भनिएपछि त्यो जाँच पनि गरियो।

‘त्यसको शुल्क दुई हजार लिइयो,’ रमेशले भने ‘पिसिआर पनि नेगेटिभ नै आयो।’

उनले सरकारले तोकेभन्दा बढी रकम लिएको थाहा पाए पनि अस्पतालले भनेपछि तिर्न बाध्य भएको बताए।

एक साताअघि बच्चा बिरामी भएपछि बिएण्डसी शिक्षण अस्पताल लिएर पुगेका थिए एक अभिभावक।

‘एक वर्षको बच्चाको स्वास्थ्यमा समस्या भएपछि अस्पताल लिएर गयौं,’ ती अभिभावकले भने ‘पुगेर परीक्षण गरेपछि भर्ना गर्नुपर्ने बताइयो। भर्ना गरेर पाँच दिन राख्दा पत्याउनै नसकिने शीर्षकमा हामीबाट रकम असुली भयो।’

उनले सेतोपाटीलाई अस्पतालको रसिद उपलब्ध गराएका छन्।

कोरोना परीक्षण र उपचारका क्रममा कुन-कुन  शीर्षकमा कति रकम लिइएको हो उक्त रसिदमा उल्लेख छ।

सुरूमा अस्पतालका चिकित्सक दिलकुमार लिम्बूको सिफारिसमा बच्चाको एन्टिजेन परीक्षण भयो। त्यसबापत अस्पतालले १ हजार सात सय रुपैयाँ लियो।

(हेर्नुहोस् रसिद)

लगत्तै बिरामी बच्चाको पिसिआर पनि परीक्षण गर्नुपर्ने सिफारिस डा. लक्ष्मण ठाकुरले गरे।

‘चिकित्सकले सिफारिस गरेपछि गर्दिनँ भन्न पाइएन, गर्यौं,’ ती अभिभावकले भने, ‘तर, सरकारले पिसिआर शुल्क १५ सयभन्दा बढी लिन नपाइने भनेको आधारमा शुल्कबारे सोध्दा यहाँ दुई हजार नै हो भन्ने जवाफ दिए।’

(हेर्नुहोस् रसिद)

कोरोना पोजेटिभ देखिएपछि बच्चालाई त्यहीँ भर्ना गरेर उपचार गराउनुपर्‍यो।

परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको अस्पतालले भर्ना भएका बिरामीबाट अन्य शीर्षकमा पनि धेरै रकम असुलेको छ।

रसिदमा उल्लेख भए अनुसार ‘कोभिड मटेरियल चार्ज’ भनेर एक दिन पाँच हजार र त्यसको पाँच दिनपछि फेरि पाँच हजार लिइएको छ।

(हेर्नुहोस् रसिद)

रसिदमा लेखिएअनुसार अनुसार भर्ना भएका कोभिड बिरामीको ‘मोनिटर चार्ज’ स्वरूप हरेक घण्टाको ८० रुपैयाँको दरले अतिरिक्त शुल्क पनि बिएण्डसीले लिएको छ।

त्यसैगरी भर्ना भएका हरेक बिरामीबाट दिनदिनै पिपिई चार्ज भनेर ४ हजार ५ सय रुपैयाँ पनि लिएको पाइएको छ।

‘त्यहाँ धेरै जना बिरामी भर्ना भएका थिए’, ती बालकका अभिभावकले भने, ‘हरेक बिरामीसँग दिनहुँ ४ हजार ५ सय रुपैयाँ पिपिईका नाममा असुलियो।’

अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिस गिरीले भने एन्टिजेन शुल्क घटाइएको दाबी गरे।

‘पिसिआर रिपोर्ट गर्ने सुविधा हाम्रो अस्पतालमा नभएका कारण अन्यत्र लैजानुपर्छ। त्यही भएर दुई हजार लिइएको हो,’ उनले भने।

त्यसैगरी प्रत्येक बिरामीबाट हरेक दिन पिपिई सेटका नाममा रकम असुलिएकोबारे प्रश्न गर्दा उनले स्वास्थ्यकर्मीहरू ‘सिफ्टवाइज’ खटिने भएको ले र हरेक सिफ्टका लागि फरक पिपिई चाहिने बताए।

‘सिफ्टवाइज स्वास्थ्यकर्मी परिचालित हुने भएका कारण पिपिई धेरै लाग्ने भएको हो,’ उनले भने। सेतोपाटीबाट