बिस्फोटक पदार्थ बरामद प्रकरणः एक पुरुषले इ-रिक्साको ब्याट्री भन्दै नेपाल भित्र्याउन खोजेका थिए

झापा । झापाबाट फेला परेको ठूलो परिमाणको बिस्फोटक पदार्थ किन र कस्ले ल्याएको हो भन्ने कुरा अझै निर्क्योल हुन सकेको छैन ।

नेपाल-भारत सीमा क्षेत्र नजिकबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको बिस्फोटक पदार्थ बरामद गरेको थियो।

काँकरभिट्टाको गैरीगाउँमा २२ वर्षका जस्ता देखिने कालो पाइन्ट लगाएका युवक झोला बोकेर आएका थिए। उनको त्यो झोलामा सोही बिस्फोटक पदार्थ रहेको प्रहरीको भनाइ छ। तर, उनले एउटा इ-रिक्सालाई उक्त सामान एउटा होटल पुर्याइदिन आग्रह गरेर सामान इ-रिक्सामा हालिदिएपछि उनी त्यहाँबाट हिँडेका थिए।

ती व्यक्तिको खोजतलास प्रहरीले जारी राखे पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

भारतबाट आएका ती व्यक्तिले एक हजार रुपैयाँमा सामान ढुवानीका लागि इ-रिक्सासंग कुरा गरेको सशस्त्र प्रहरी २ नं गणका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए।

उक्त बिस्फोटक पदार्थ घाँसले छोपेको अवस्थामा राखिएको थियो। त्यो लिन इ-रिक्सावाला आएपछि झोला हलुंगो रहेको थाह पाए। इ-रिक्सावालालाई झोलामा रिक्साको ब्याट्री रहेको कुरा बताएका थिए। उनले प्रहरीलाई सोही बयान दिएका छन्। प्रहरीका अनुसार इ-रिक्सावालाले नै उक्त झोलामा शंकास्पद बस्तु रहेको कुरा सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए।

शंकास्पद झोला भएको थाह भएपछि काँकरभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम चाम्लिङको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलमा पुग्दा उनले भनेको ठाउँमा त्यो झोला थिएन। घटनास्थल  वरिपरिको स्थानमा खोजी गर्दा एक ठाउँमा खाल्डोमा उक्त बिस्फोटक पदार्थ भएको झोला भेटिएको थियो।

सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार झोला खोलेर चेकजाँच गर्दा कमरसियल डेटोरनेटर ८० वटा र नेपोलाइट ९१ थान बरामद भएको थियो।