प्रदेश १ मा थप २६८ जनामा कोरोना सङ्क्रमण

विराटनगर । विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको विराटनगरमा सबैभन्दा २७ र सुनसरीको इटहरीमा ११ सहित प्रदेशमा ३७ वटा पालिकामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज एक महिलासहित दुईको मृत्यु भएको र चार हजार ७०५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।