लता मंगेशकरले किन छाडेकी थिइन् किशोर कुमारसँग गीत रेकर्ड गराउन?

भारतीय संगीत क्षेत्रका दुई महान गायकमा गनिन्छन् लता मंगेशकर र किशोर कुमार। जबसम्म बलिउड रहला तबसम्म यी दुई नाम सायदै कसैले बिर्सिन सक्ला।

आज यी दुवै यो संसारमा छैनन्। लता मंगशेकरको आजै बिहान मात्र निधन भयो। किशोर कुमारको भने सन् १९८७ मै निधन भएको हो। यी दुई गायक यो संसारमा नभए पनि उनीहरूको आवाज धेरै शताब्दीसम्म गुन्जिरहनेमा शंका छैन।

यिनीहरूले एकअर्कासँग पनि कयौं गीत गाएका छन्। उनीहरूको युगल स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ। यी यस्ता गायक जोडी हुन् जसलाई भारतका मात्र होइन, संसारका कयौं देशका संगीतप्रेमीले मनमा बसाएका छन्।

यी दुई गायकको भेट कसरी भएको थियो त? पहिलोपटक उनीहरूले कहिले देखे एकअर्कालाई?

लता मंगेशकरले केही वर्षअघि बिबिसीसँगको अन्तर्वार्तामा किशोर कुमारसँगको भेटको रोचक किस्सा सुनाएकी थिइन्।

यो सन् चालीस दशकको कुरा हो।

लताले बलिउडमा भर्खरै गीत गाउन सुरू गरेकी थिइन्। त्यति बेला उनी आफ्नो घर ग्रान्ड रोडबाट लोकल रेल चढेर मलाड जान्थिन्। अनि त्यहाँबाट पैदल हिँडेर स्टुडियोसम्म पुग्थिन्।

मलाडअगावै, बम्बई सेन्ट्रलमा एक युवक पनि त्यो रेलमा चढ्थे। लता जुन स्टेसनमा झर्थिन्, ती युवक त्यहीँ झर्थे। अनि लता स्टेसनबाट स्टुडियोसम्म कहिले टाँगामा त कहिले पैदल जान्थिन्। ती युवा पनि अधिकांशजसो उनको पछिपछि हुन्थे। कहिले टाँगामा कहिले पैदल।

लताको ती युवकसँग सधैंजसो भेट हुन्थ्यो। तर न लता ती युवकलाई चिन्थिन्, न ती युवक लतालाई चिन्थे।

तर हरेक दिन एउटै सफरमा भेट्दाभेट्दा दुवै एकअर्काका निम्ति परिचित हुन थालेका थिए। उनीहरूलाई एकअर्काको नाम थाहा थिएन तर भिडमा जब एकअर्काको अनुहार देख्थे, उनीहरू मुस्कुराउँथे। लाग्थ्यो उनीहरू लामो समयदेखिका परिचित हुन्।

अनुहार हेरेर मुस्कुराउने कुरामा ती युवक नै अगाडि हुन्थे। उनी कहिले लतालाई देखेर दाँत देखाउँदै हाँस्थे, कहिले मुस्काउँथे मात्र त कहिले हातमा भएको एउटा लाठी फुरफुर घुमाउँथे। लतालाई ती युवक देखेर कहिलेकाहीँ अचम्म लाग्थ्यो।

लता त्यति बेला संगीतकार खेमचन्द प्रकाशका निम्ति गीत गाउँदै थिइन्। त्यही गीत रेकर्डिङका लागि उनी स्टुडियो जान्थिन्।

त्यही क्रममा एक दिन ती युवक लतालाई पछ्याउँदै स्टुडियोसम्मै पुगे। लता हड्बडाइन्। उनी हतार हतार पाइला अगाडि बढाउँदै स्टुडियोमा छिरिन्।

दुगुर्दै उनी खेमचन्द प्रकाशका अगाडि पुगिन् र भनिन्, ‘एक जना केटो बाटोबाट मलाई पछ्याउँदै यहाँसम्म आइपुग्यो। तपाईं त्यसलाई हप्काएर पठाइदिनू न।’

लताले यति भनेपछि खेमचन्दले ढोकातिर हेरे। त्यहाँ ती युवक उभिएका थिए।

हँसिला ती युवकलाई देखेर खेमचन्द आफैं मुर्छा पर्ने गरी हाँसे। अनि भने, ‘अरे लता तिमी यिनलाई चिन्दैनौ? यिनै त हुन् अशोक कुमारका भाइ जोसँग तिमी आज गीत गाउँदैछौ।’

लताको अनुहार लाजले रातो भयो। आफूले लामो समयदेखि बाटोमा देखिरहने, आज आफूलाई पछ्याउँदै स्टुडियोसम्म आइपुग्यो भन्ने सोचेका ती युवक थिए गायक किशोर कुमार।

यो कथा अन्तर्वार्तामा सुनाउँदै लताले भनेकी थिइन्, ‘त्यही दिन हो मलाई खेमचन्दले किशोर दासँग भेटाउनु भएको। त्यो दिन हामीले सँगै गीत गायौं र रेकर्ड गरायौं। त्यसपछि त सँगै कति गायौं भन्ने यादै भएन।’

लता र किशोरले गाएका सुपरहिट गीतमा ‘तेरे बिना जीन्दगी से’, ‘गाता रहे मेरा दिल’, ‘भिगी भिगी रातोंमे’, ‘देखा एक ख्वाब तो ये सिलसिले हुए’, ‘तेरे मेरे मिलनकी ये रैना’, ‘आपकी आँखोमे कुछ मेहेके हुए से ख्वाब है’, ‘कोरा कागज था ये मेरा’, ‘पन्नाकी तमन्ना है की हिरा मुझे मिलजाए’, ‘हम दोनो दो प्रेमी दुनियाँ छोड चले’ लगायत हुन्।

यी दुई गायकको जोडीले जस्ता गीत गाए, सायदै बलिउडमा इतिहासमा यति हिट भएका थिए। उनीहरू फिल्मका हिरो-हिरोइन भन्दा बढी चर्चित थिए। उनीहरूको गीतले नै फिल्म चल्थ्यो। फिल्म नचले उनीहरूको गीत चल्थ्यो।

यसरी स्टुडियोमा सँगसँगै बसेर उनीहरूले कयौं सुपरहिट गीत रेकर्ड गराए। तर दुवैको करिअरमा एउटा यस्तो विन्दु आयो जहाँ उनीहरूले सँगसँगै गाउन छाडिदिए।

यसको मतलब उनीहरूले युगल गीत गाउन छाडेका होइनन्, रेकर्ड मात्र सँगसँगै बसेर गरेनन्।

यसको कारण उनीहरूबीच झगडा परेर पनि होइन। यो कारण उनीहरूको भेटजस्तै रोचक छ।

गीतकार समीर अन्जानले कपिल शर्मा शोमा आउँदा लता मंगेशकरले किशोर कुमारसँगै बसेर गीत रेकर्ड गराउन नचाहेको बताएका थिए।

उनले भनेका थिए, ‘लताजीले एकपटक मलाई किशोरजीका बारेमा बताउनुभएको थियो। करिअरको एउटा समय लताजी र आशाजी (लताकी बहिनी तथा गायक आशा मंगेशकर) ले किशोरदासँग गीत रेकर्ड छाडिदिनुभएको थियो। मैले यसबारे लताजीलाई सोधेको थिएँ।’

समीरले लताको जवाफ सुनाउँदै थप भनेका छन्, ‘उहाँले भन्नुभयो, तिमीलाई थाहा छैन समीर किशोरदा कस्ता नटखट मान्छे हुनुहुन्छ। हामी सँगै स्टुडियो जान्छौं। रेकर्डिङ सुरू हुनुअगाडि किशोरदा हामीसँग यति गफ गर्नुहुन्छ, यति चुट्किला भन्नुहुन्छ कि हामी उहाँका कुरा सुनेर हाँस्दा हाँस्दै मुर्छा नै पर्छौं। अनि जब रेकर्ड हुने बेला आउँछ किशोरदा त खुरुखुरु गाएर रेकर्ड गराएर हिँड्नुहुन्छ। हामी भने उहाँको कुरा सुनेर हाँस्दा हाँस्दा थाकेको स्वरले गीत गाउनै सक्दैनौं। त्यसपछि हामीले नै संगीतकारलाई भन्न थाल्यौं कि पहिले किशोरदालाई रेकर्ड गराएर पठाउनुहोस् अनि पछि मात्र हामीलाई बोलाउनुहोस्।’

एकअर्काका छेउमा उभिएर होस्, वा नउभिएर, बलिउड संगीतमा लता मंगेशकर र किशोर कुमारको जोडीले सधैं भनिरहनेछ- गाता रहे मेरा दिल…।सेतोपाटी