मेचीनगरले बल्ल मुख खोल्यो,‘आगलागीका घटनाले हामी दुःखी भएका छौँ’

मेचीनगर । मेचीनगरको दुई अलग-अलग स्थानमा भएको आगलागीका घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूणर् श्रद्घाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको बैठकमा सहभागीहरुले स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धी ठोस कानुन बनाउन आग्रह गरेका छन् ।

बैठकले २० माघमा मेचीनगर-६ स्थित एसएस फुट्वेयर उद्योगमा भएको आगलागीको घटनामा आगो नियन्त्रणमा सहयोग पुर्याउने काँकरभिट्टा खानेपानी तथा सरसफाइ समिति, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना छिमेकी नगर तथा गाउँपालिका, मित्रराष्ट्र भारत, स्थानीय नगरबासीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले नगर क्षेत्र भित्र उद्योगधन्दा, कलकारखाना एवम् अन्य व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने कार्यविधि तत्काल लागूगरी कार्यान्वयन गर्न-गराउन मेची उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला बीच थप सहकार्य, समन्वय गर्ने, आगलागीलगायत अन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण बाटोको मापदण्ड, घरनक्सा पास गर्दा आवश्यक मापदण्डलगायत अन्य प्राविधिक मापदण्डको पूणर् पालना गर्न-गराउन अझ प्रभावकारी व्यवस्थापन मिलाउने, आगलागीबाट हुने विपद् जोखिम न्यूनीकरण गर्न-गराउन वारुणयन्त्रलाई सहज रुपमा पानी भर्न आवश्यक पर्ने ‘फायर हाइडे्रन्ट’ को विशेष गरेर सहरी क्षेत्रहरु चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा र बाहुनडाँगीमा व्यवस्थापन गर्न- गराउन तथा बिग्रिएका स्थानमा मर्मत सम्भार गर्न खानेपानी उपभोक्ता संस्थासँग सहकार्य समन्वय गर्ने निणर्य समेत बैठकले गरेको छ ।

बैठकमा नगर प्रमुख आचार्यले आयावारीमा भएको आगलागीको घटनामा परी घाइते भएकाहरुको उपचार विभिन्न अस्पतालमा गरिएको र उनीहरुको खर्च नगरपालिकाले व्यहोरेको तथा मृतकलाई राहत स्वरुप रकम उपलब्ध गराएको जानकारी दिए ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको दमकल खराब भएर मर्मत सम्भारका लागि पठाइएको बताइन् । नगरपालिकाको दमकल नभए पनि नगर प्रमुख तथा उपप्रमुखले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर तत्काल मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बोलाइएको बताइन् ।

बैठकमा नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज पोखरेल, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, सचिव रवि नेपाल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, धुलाबारी खानेपानीका अध्यक्ष अजय घिमिरेको सहभागिता रहेको थियो ।

यस्तै, बैठकमा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका चारआलीका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगर अध्यक्ष कुसुम कोइराला, इञ्जिनियर कमल कोइराला, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की, विधेयक समिति संयोजक कुसुम चौधरी, सुशासन तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाईंलगायतको पनि सहभागिता थियो ।