गौरादह फर्किएर अवकाशपछिको जीवन बिताइरहेका सीताराम ताजपुरिया

२६ माघ, झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा’ गीत गाएर सदाबहार चर्चित गायक सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् ।

रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाइ टुङ्ग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुबाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका-२ मा सानो नयाँ घर बनाए । अहिले त्यही घरमा ताजपुरिया दम्पती बस्दै आएका छन् ।

‘धेरै गीत गाएँ, धेरै दाम चाहिं कमाउन सकिनँ,’ काठमाडौंबाट गाउँ फर्किर अवकाश जीवन बिताइरहेका ताजपुरिया भन्छन्, ‘तर धेरै नाम कमाउन पाएकोमा खुसी छु । गौरादहकै गीत गाउँदा सबैले चिन्नुभयो । गौरादह नै प्यारो लाग्छ ।’

‘कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन,’ सरकारलाई सुझाव दिंदै ताजपुरिया भन्छन्, ‘देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहीं सरकारले पनि हेरविचार गर्नुपर्छ ।’
झापामा बढी संख्यामा रहेको राजवंशी र ताजपुरिया समुदाय आदिवासी समुदाय हो । उनीहरुको आफ्नै मातृभाषा, भेषभूषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै उनले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्‍याएको योगदान अतुलनीय छ ।

गौरादहको एउटै गीतले चर्चित बनायो

२०३९ साल जेठमा अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले गीत सुनेर दिएको १२५ रुपैयाँ बोकेर गौरादहबाट काठमाडौं पुगेका ताजपुरियाले रेडियो नेपालमा स्वर परीक्षा पास गरेलगत्तै ताजपुरिया भाषामा नेपालकै पहिलो गीत रेकर्ड गराएका थिए । गीतको बोल थियो– ‘कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान” यसको अर्थ- ‘काली काली भएपनि हिस्सी परेकी छौ ।’

त्यसबेला रेडियो नेपालमा फूलबारी कार्यक्रममा भाषाभाषीको गीत बज्थ्यो । ताजपुरिया भाषाको गीत गाएको धेरैपछि मात्र उनले नेपाली लोकगीत गाउने अवसर पाए । जसको बोल थियो– ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडी गयो ।’

यो गीत यति लोकप्रिय बन्यो कि सीताराम ताजपुरियालाई विश्वभरिका नेपालीभाषीसामु चिनायो । यही गीतको ख्यातिका कारण २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले गोरखा दक्षिणबाहु पदक पाए । रेडियो नेपालले उनलाई स्वर्ण पदक समेत दियो ।

३६ वर्षअघि २०४२ सालतिर ‘गौरादहको बजारैमा’ गीत रेकर्ड भएको थियो । गायक ताजपुरियाको आफ्नै रचना, स्वर र सङ्गीत छ यो गीतमा । उनका अनुसार २०३३ सालमा एसएलसीको जाँच दिएपछि यो गीतको पहिलो हरफ लेखिएको थियो । पछि पुनर्लेखन गरेर गीतलाई रेकर्ड गरिएको थियो ।

गौरादहको बजारमा मायालुसँग माया साटेको भावना बोकेको उक्त गीत गाउँदा गौरादह बजारमा पुराना शैलीका झुपडी घरहरु मात्र थिए । अहिले ठूला महल र फराकिला सडकले नगरपालिकामा रूपान्तरित भइसकेको छ गौरादह ।

‘गौरादह र जुरोपानी गाउँ समेटेर नगरपालिका बनाउन लाग्दा गौरापानी नगरपालिका बनाउने तयारी भएको रहेछ,’ ताजपुरियाले भने, ‘गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर मैले नेताहरुलाई आग्रह गरेको थिएँ । आखिर पहिचान बाँच्यो ।’

चोकको नामकरण उनकै नामबाट

गौरादह-२ मा गौरीगञ्ज जाने सडकमै जोडिएको छ सीताराम ताजपुरियाको घर । घरको आँगनमा रङ्गीबिरङ्गी फूल फुलेका छन् । गौरादह चोकबाट दक्षिणमा रहेको उनको घर भएको चोकको नामकरण ‘सीताराम ताजपुरिया चोक’ राखिएको छ । चोकको नाम २०७२ सालमा राखिएको हो।

एकतले पक्की घरको छतको बुर्जामा ‘गौरादहको बजारैमा’ ठूलो अक्षरले कुँदिएको छ । बाटो हिंड्ने जोकोहीले त्यो घर गायक सीताराम ताजपुरियाको हो भनेर चिन्न सजिलो भएको छ । चोकको नामकरणमा स्थानीय राजनीतिक दलहरु एकमत भएका थिए ।

घरभित्र भान्साबाहेकका सबै कोठा उनले पाएको तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिभराउ छन् । तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सञ्चारमन्त्री शङ्कर पोखरेलको हातबाट सम्मान ग्रहण गरिरहेको तस्वीर सजाइएको छ । सुन र चाँदीका तक्माहरु राखिएका छन् । गायक उदितनारायण झा, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता भुवन केसी र राजेश हमाललगायतसँग खिचेका पुराना तस्वीरहरुले उनको घर सजाइएको छ ।

अर्कै थियो मन परेको गीत

‘गौरादहको बजारैमा’ गीतले बहुचर्चित बनाएपनि ताजपुरियाको प्रिय गीत चाहिं अर्कै रहेछ । उनलाई सर्वाधिक मन परेको गीत यस्तो रहेछ–

‘म आफ्नै आँखाबाट झरेको छु,

झरेको पातलाई जसले टेके पनि हुन्छ ।

म आफ्नै चिहानमा मरेको छु,

मरेको गीतलाई जसले लेखे पनि हुन्छ ।।

उनका २०० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसकेका छन् । तीमध्ये धेरैजसो लोकगीत छन् भने आधुनिक र भजन गीत पनि धेरै नै छन् । ‘म सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको थिएँ,’ आदिवासी परिवारमा जन्मेर पनि पहाडी मूलको नेपाली लोकगीतमा रुचि राख्नुको कारण बताउँदै ताजपुरिया भन्छन्, ‘मातृभाषा चटक्कै भुलेको होइन, नेपाली भाषा बोल्ने साथीहरु मेरा धेरै थिए । उनीहरुसँगै घुलमिल धेरै थियो । त्यसको प्रभाव गीतमा पनि पर्‍यो ।’

गीत धेरै नै गाएपनि ‘गौरादहको बजारैमा’ यति धेरै प्रसिद्ध होला भनेर आफूले सुरुमा कल्पना नगरेको उनी बताउँछन् । बुढेसकालले छुन थालिसकेको छ ताजपुरियालाई । मधुमेह र रक्तचापको बिमारले च्याप्न थालेको छ । आँखाको शक्ति कम हुँदै गएको छ । शरीर कमजोर हुँदै गएको छ । तथापि विभिन्न जिल्लाबाट गीत गाउन बोलाउँदा उनी जान्छन् । केही समयपछि भारतको आसाममा गीत गाउन निम्तो आएको उनले बताए ।

पैसा नकमाए पनि नाम कमाएकोमा खुसी

सीताराम ताजपुरियाले जीवनभर नेपाली साङ्गीतिक क्षेत्रको सेवा गरे । तर उनले दाम होइन, नाम कमाए । ‘जागिरबाट बिदा भएपछि आफ्नै गाउँ गौरादह आएको छु, सानैदेखिका साथीभाइ सबै यतै छन्,’ उनले भावुक हुँदै भने, ‘मेरो बुबा गोठालो हुनुहुन्थ्यो । अर्काको बनिबुतो गरेर हामीलाई पाल्नु हुन्थ्यो । धेरै पढाउन सक्नुभएन । तर मैले काठमाडौं गएर गीत गाएर देशको सेवा गर्न पाएँ । गौरादहको नाम चम्काउन पाएँ ।’

उनको सम्पत्तिको नाममा एक कठ्ठा जग्गा र घर छ । पत्नी लक्ष्मी ताजपुरिया पनि सङ्गीतप्रति झुकाव राख्छिन् । छोराछोरी छैनन् । बाँचुञ्जेल नेपाली सङ्गीतको सेवा गर्ने इच्छा उनको छ । गौरादह नगरपालिकाले सम्मान गर्ने भएको रहेछ । पत्रकार र सङ्गीत क्षेत्रका मानिसहरु भेट्नका लागि आइरहन्छन् । यसैमा उनी सन्तुष्ट छन् ।

‘कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन,’ सरकारलाई सुझाव दिंदै ताजपुरिया भन्छन्, ‘देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहीं सरकारले पनि हेरविचार गर्नुपर्छ ।’ आधुनिक सङ्गीतको नाममा पाश्चात्य संस्कृतिको अतिक्रमणले नेपाली सङ्गीतमा विकृति बढ्न थालेको उनको गुनासो छ । अनलाइनदबरबाट