अर्जुनधारामा आवासको अधिकारबारे अन्तरक्रिया

शनिश्चरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा मानवअधिकार समूह अर्जनधाराले सरोकारवालासँग आवासको अधिकारको सवालमा बिहीबार अन्तरक्रिया गरेको छ ।

अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले आवासको अधिकारका विषयमा ५बुँदे कार्यपत्र प्रस्तुत गर्दैै नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेका थिए । कार्यपत्रमा जनता आवास कार्यक्रम वास्तविक विपन्नसम्म पुग्न नसकेको गुनासो उल्लेख छ ।

नगर प्रमुख रानाले नगरमा सञ्चालित आवास कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए । दलित, तराइबासी र पिछडिएका समुदाय लक्षित तराई मधेश समृद्धि आवास कार्यक्रम संघीय सरकारको सहयोगमा सञ्चालन गरिएको उनको भनाइ छ ।

यस्तै, सामुहिक आवास कार्यक्रमअन्तर्गत नगरका ११ वडामा १ सयभन्दा बढी घरपरिवार लाभान्वित भएको, जनता आवास कार्यक्रमअन्तर्गत कम्तिमा ७० घर निर्माण गरिएको र सुरक्षित आवास कार्यक्रम पनि सञ्चालन भएको नगर प्रमुख रानाले प्रष्ट्याएका थिए ।

मानवअधिकार समूहले खेतीयोग्य जमिनमा जथाभावी प्लटिङ गरिँदा कृषियोग्य जमिनमा ह्रास आउँदै गएको औँल्याएको छ । खेतीयोग्य जमिन र आवासका लागि योग्य जमिन पहिचान गरिनुपर्ने समूहको सुझाव छ ।

भूमिसम्बन्धी ऐन नगरपालिकाले बनाए पनि कार्यान्वयन हुन नसक्दा जथाभावीरुपमा हुने प्लटिङ रोक्न नसकिएको बताइएको छ । तर, नगरले औधोगिक क्षेत्रका लागि अर्जुनधारा २ मा औधोगिक ग्राम भनी जग्गा प्राप्ति गरिसकेको मेयर रानाले बताए ।

मानवअधिकार समूहका कार्यक्रम संयोजक राजन साम्पाङले सञ्चालन गरेको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा सञ्चारकर्मीलगायतले जिज्ञासा राखेका थिए ।