दूधको मूल्य नौ रुपैयाँले बढ्यो

झापा । दुग्ध विकास संस्थाले दूधको मूल्य प्रतिलिटर नौ रुपैयाँले बढाएको छ । संस्थाले शुक्रबारबाट लागू हुने गरी दूधमा मूल्यमा प्रतिलिटर नौ रुपैयाँले बढाएको हो ।

सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर छ रुपैयाँ ५२ पैसा बढाएसँगै डिडिसीले पनि दूधको मूल्य बढाएको हो । कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानीलगायत लागत खर्च पनि बढेको संस्थाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘दुग्ध विकास संस्थाले वैज्ञानिक आधारमा दूधको मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाउने निणर्य गरेको छ । नयाँ मूल्य शुक्रबारदेखि लागू हुनेछ ।’

यता कच्चा दूधको मूल्य बढेसँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पनि उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको थियो । मन्त्रालयले बुधबार तीन प्रतिशत फ्याट र आठ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डिडिसीलाई अनुमति दिएको थियो ।

सोही अनुमतिअनुसार डिडिसीले दूधको मूल्य बढाएको हो । डिडिसीले बिहीबार पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढेको भन्दै नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । अब भने आधा लिटरलाई साढे ४२ रुपैयाँ पर्नेछ ।

यो मूल्य काठमाडौँ, विराटनगर, हेटौँडा र जनकपुरमा लागू हुनेछ । बुटबल र भैरहवा क्षेत्रमा भने आधा लिटरको मूल्य ४० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै, नेपालगन्ज र धनगढी क्षेत्रमा आधा लिटरलाई ३९ रुपैयाँ ५० पैसा तोकिएको छ । प्रतिलिटर नौ रुपैयाँ बढे पनि मूल्य क्षेत्रअनुसार फरक-फरक छ ।