राप्रपाका प्रदेश अध्यक्ष कमल थापाको पार्टीमा जाने !

मेचीनगर । पार्टीको नाम, मूल सिद्धान्त र अवलम्बन गर्ने नीति के हुने भन्ने टुंगो नलागे पनि झापाका केही राप्रपा नेता हालै राप्रपा छाडेका कमल थापाले खोल्ने नयाँ पार्टीमा खुल्ने निश्चित भएको छ ।

राप्रपाका प्रदेश १ अध्यक्ष राम थापालगायतका नेता थापाले खोल्ने पार्टीमा लाग्ने निश्चित भएको हो । प्रदेश १ अध्यक्ष थापाको नेतृत्वमा झापालगायत प्रदेश १ बाट विभिन्न नेतृत्वमा रहेका नेता नयाँ खुल्ने पार्टीमा लाग्ने भएका हुन् । कमल थापा झापा आएका छन् । उनी राम थापाको छोराको विवाहमा सहभागी हुन झापा आएका हुन् ।

तीन दिनअघि राप्रपा छोडेका थापाले गणतान्त्रिक पार्टी खोल्ने भनिए पनि शुक्रबार हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डासहितको विषयमा छलफल भएको बुझिएको छ । शनिबारसम्ममा आवश्यक तयारी पूरा गरी फागुन १ गते नयाँ पार्टी घोषणा गर्ने तयारी छ ।

नयाँ खुल्ने पार्टीले राजसंस्थाको एजेन्डा भने नबोक्ने निश्चित भइसकेको छ । विगतमा कमल थापा थापा नेतृत्वको राप्रपाको मूल एजेन्डा हिन्दु राष्ट्र, राजसंस्थाको पुनस्र्थापना र संघीयताविरोधी थियो ।

मंसिरमा भएको महाधिवेशनमा तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनसँग एक सय ९९ मतले अध्यक्ष हारेपछि कमल थापा नयाँ दल खोल्ने तयारीमा पुगेका हुन् । थापाले आफ्नो हारको कारण र दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाउँदै आएका छन् । तीन राप्रपा एकता हुँदा गीता छोएर पार्टी नफुटाउने बाचा गरेका थिए । उनले आफ्नो बाचालाई तिलाञ्जली दिँदै नयाँ पार्टी खोल्न लागेका हुन् ।