नगरले पायो स्वास्थ्य सामाग्री

मेचीनगर । सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रबन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गरिन् । उनले स्थानीय सरकारसँग सहकार्य गरेर परियोजना सञ्चालन गर्दा आगामी दिनमा समेत सहज हुने विश्वास व्यक्त गरिन् ।

प्राप्त सामाग्रीहरुमा पीपीइ सेट ३ सय थान, डिस इन्फेकसन मेसिन १ थान, सप डिस्पेन्सर ३ थान, सप हेन्डवास रिफिल ४२ थान, सेनिटाइजर डिस्पेन्सर २ थान, इन्फेकसन एन्टीसेप्टिक सोलुसन ५० थान, आइआर थर्मामिटर २ थान लगायत छन् ।

११ प्रकारका ४२५ वटा सामान नगरपालिकालाई हस्तान्तरण गरेको हो । उपप्रमुख उप्रेतीले सामान उपलब्ध गराउने सबै संस्थाप्रति नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौला र नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले कोभिड-१९ नियन्त्रणमा खेलेको भूमिकाका बारेमा जानकारी गराए ।

कार्यक्रममा माइती नेपाल १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरे, मेची उद्योग बाणिज्य संघ महिला उपाध्यक्ष बीना तामाङ, काँकरभिट्टा हेल्थ हेल्प डेक्स प्रमुख भोलामान थापा, सेफ द चिल्ड्रेनका परियोजना संयोजक प्रज्वल खतिवडा, आसमान नेपालमा परियोजना संयोजक पुष्प पोखरेल, अशोक चौधरी, सन्जिवकुमार शाक्य लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।