बुद्धशान्तिमा पाँच महिनामा पाँच कानुन

बुधबारे । कतिपय स्थानीय तहमा पर्याप्त मात्रामा कानून बनाउन नसक्दा जनतालाई दिनुपर्ने सेवा प्रभावित भइरहेका छन् । तर, झापाको सुदूर पूर्वमा रहेको गाउँपालिका बुद्धशान्तिले पाँच महिनामै ५ वटा कानून बनाउन सफल भएको छ ।

श्रावण मसान्त यता प्रमुख प्रशासकीय अधिकृतका रुपमा बुद्धशान्ति गाउँपालिकामा सरुवा भई आएका युवराज कट्टेलले आफू आएपछि पाँचवटा कानून बनाएका हुन् । सुरुसुरुमा ऐन कानुन अभावका कारण स्थानीय सरकार सञ्चालन गर्न गाह्रो परेता पनि हाल आएर स्थानीय तहले आफैले पर्याप्त कानून बनाएर सहज रुपमा सेवा दिँदै आएका छन् ।

बुद्धशान्ति गाउँपालिकाले श्रावणयता कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाइ ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कट्टेलले बताएका छन् ।

उनले भने, ‘सभाबाटै पारित गरेर ५ वटा कानून तयार गरेका छौँ, प्रमाणीकरण समेत भएको छ । मात्र राजपत्रमा छाप्न बाँकी छ । यसका अतिरिक्त विभिन्न दैनिक कामकाजमा आवश्यक पर्ने विषयसँग सम्बन्धित ऐन कानुन बनाएका छौँ ।’

स्थानीय तहका दैनिक कार्य सम्पादनलाई सहज र वैधानिक बनाउन ऐन कानुन निर्माण गर्ने गरेको छ । गाउँ, नगरसभाबाट बहुमतले पारित भएको ऐन, कार्यविधि र निर्देशिकालाई स्थानीय तहका कार्यसम्पादनको कानुनका रुपमा लिने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफू अनूकुल, भूगोल सुहाउँदो, संघ र प्रदेशसँग नबाझिने गरी ऐन कानुन निर्माण अधिकार दिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय झापामा रहेका कट्टेल गाउँपालिकामा आएपछि बालबालिका, युवा र सामाजिक रुपान्तरणमा नीतिगत काममा सकृय छन् । उनका अनुसार युवा सहभागिता सुनिश्चित नभएसम्म गाउँबासीले चाहेको विकासलाई ब्यवस्थापन गर्न सकस पर्ने बताएका छन् ।

कृषकलाई ‘परिचयपत्र’ दिने

सरकारले सबै स्थानीय निकाय मार्फत कृषकहरुको विवरण समेटी कृषक परिचयपत्र तयार गर्ने भनिए पनि काम शुरु हुन सकिरहेको छैन । झापामा भने दुईवटा पालिकाले यसको थालनी गरेका छन् ।

झापाको कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाले कृषकहरुको जग्गा, उत्पादन, बजार लगायतका बिषयमा तथ्यांक संकलन शुरु गरेका हुन् । कृषकहरुको उत्पादन र अवस्था हेरी क, ख, ग र घ बर्गमा छुट्याउने बुद्धशान्ति गाउँपालिकाका कृषि प्राविधिक कृष्ण ढुंगेलले बताएका छन् ।