टेस्ट टोली आयरल्यान्डविरुद्ध नेपालको उत्कृष्ट टोली र नतिजाको अपेक्षा

मस्कट । नेपालले चार देश सम्मिलित टि-२० आई सिरिज अन्तर्गत अन्तिम खेल आज टेस्ट टोली आयरल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुँदैछ । दुबै टोली आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि अन्तिम खेलमा जितका साथ अन्त्य गर्न चाहन्छन् ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । युएईसँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले स्तब्ध बनेको थियो । आयरल्यान्डसँगको खेलसँगै नेपालको आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

नेपालले सुरुवाती दुई खेलमा आफ्नो उत्कृष्ट ११ खेलाडी छान्ने प्रयास नै गर्यो । कप्तान सन्दीप लामिछानेले पहिलो खेलमा सागर ढकाल र विवेक यादवलाई टि२० आईमा डेब्यू दिएका थिए । दोस्रो खेलमा लोकेश बमलाई नेपालले डेब्यू दिएको थियो । स्पिनर सागर ढकालले आफ्नो पहिलो खेलको दबाबको कारण कमजोर प्रदर्शन गरे । विवेक यादवलाई ब्याटिङमा नेपालले अवसरनै दिएको छैन । फिनिसर विवेकले आफ्नो प्रमुख खुबी प्रयोग गर्न पाएका छैनन् ।

लोकेशले युएईविरुद्ध राम्रो प्रभाव छाडे । आयरल्यान्डसँग कुशल भुर्तेल र करण केसी फर्किने छन् । दुबै चोटका कारण सुरुवाती दुई खेलमा थिएनन् । कुशल टोलीमा फर्किदा लोकेश बम बेन्चमा बस्नुपर्ने हुन्छ । तर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको प्रदर्शन सुरुवाती दुई खेलमा राम्रो छैन । यी दुबै ब्याटर टि२० विशेष खेलाडी मानिदैनन् । लोकेशलाई निरन्तरता दिँदै ज्ञानेन्द्र र शरद मध्य एक बेन्चमा बस्न सक्छन् ।

ओपनिङ आसिफ र कुशल भुर्तेलले गर्नेछन् । कुशल नहुँदा आसिफको प्रदर्शनमा पनि असर परेको छ । दुबै टोलीबाट उत्कृष्ट सुरुवातको अपेक्षा गरिएको छ । दीपेन्द्र सिंह ऐरीको चौथो नम्बर पक्का छ । नेपाललाई पहिलो खेलमा जिताउन दीपेन्द्रले ७३ रनको योगदान दिएका थिए । दोस्रो खेलमा केहि सुस्त ब्याटिङ गरेका दीपेन्द्रले ४१ रन जोडेका थिए ।

नेपालले पाँचौं, छैटौं र सातौं नम्बरमा कसलाई खेलाउने आयरल्यान्डसँगको खेलले थाहा हुनेछ । पाँचौंमा लोकेश बम, छैटौंमा विवेक यादव र सातौंमा करण केसीको सम्भावना छ । यो अवस्थामा तेस्रो नम्बरमा शरद वा ज्ञानेन्द्रलाई खेलाउनु पर्ने हुन्छ । लोकेशलाई तेस्रो नम्बरमा खेलाउँदै शरद र ज्ञानेन्द्र मध्य एक पाँचौंको विकल्प हुन सक्छन् ।

नेपालले तीन तीव्र गतिका बलरमा जितेन्द्र मुखिया, करण केसी र अभिनाश बोहरालाई पहिलो रोजाईमा खेलाउने सम्भावना देखिन्छ । अभिनाशले डेथ ओभरमा राम्रो प्रदर्शन गर्ने गर्दछन् । ओमानसँग तीन विकेट लिएका उनलाई नेपालले दोस्रो खेलमा विश्राम दिएको थियो । सन्दीप लामिछानेलाई स्पिनरमा कसले साथ दिन्छ भन्न सक्ने अवस्था भने छैन ।

सागर र साहब दुबैको प्रदर्शन कमजोर छ । ओमानसँग सागरले ३ ओभरमा ३५ र सागरले २ ओभरमा ३५ रन खर्चेका थिए । बायाँ हाते कुशल मल्लले आजको खेलमा मौका पाउने सम्भावना छ । उनी स्पिनसँगै आक्रामक ब्याटिङको क्षमता राख्छन् । नेपाललाई उत्कृष्ट ११ खेलाडी खोज्ने यो अन्तिम अवसर हो । आयरल्यान्डसँगको खेलले धेरै निर्धारण गर्नेछ । मध्यक्रमका ब्याटरलाई आक्रामक क्रिकेट खेल्न आवश्यक छ । युएईसँग हार्नुमा मध्यक्रमका ब्याटरको प्रर्दशन एक कारण थियो ।

यता आयरल्यान्ड शीर्ष ब्याटरमा बढी निर्भर छ । ओपनर पाउल स्टर्लिङको प्रदर्शनले धेरै प्रभाव पार्दै आएको छ । युएईसँग हानुमा उनी एक रनमा रन आउट हुनु हो । आयरल्यान्ड युएईसँगको हारले सचेत भएको छ । जुन गल्ती नेपालसँग दोहोराउन चाहदैन । कप्तान एन्डी बालबर्नी राम्रो लयमा छन् । उनको विकेट नेपालको लागि महत्वपूर्ण सावित हुनसक्छ ।

कर्टिस क्याम्फर र ग्यारेथ डेलानी उनको मध्यक्रमका ब्याटर हुन् । आयरल्यान्डको मध्यक्रम र तल्लोक्रम कमजोरी हुन् । मध्यक्रममा भरपर्दा ब्याटर छैनन् । तीव्र गतिको बलिङ मुख्य हतियार हो । जोश लिटिल, क्रेग योंग, क्याम्फर र मार्क आदिर जस्ता चर्तिच तीव्र गतिका बलर आयरल्यान्डसँग छन् ।

दुबै टोलीको कमजोरी र बलियो पक्ष

नेपालको कमजोरी बलिङ आक्रामण हो । स्पिनरमा सन्दीप बाहेक अन्यको प्रदर्शन राम्रो छैन । तीव्र गतिको बलिङ पनि कमजोर छ । आयरल्यान्डको कमजोरी मध्यक्रम र तल्लोक्रम ब्याटिङ हो । तीव्र गतिको बलिङ उनीहरुको बलियो पक्ष मानिन्छ ।

हेड टु हेड : आयरल्यान्ड र नेपालबीच दुई टि-२० आई खेल भएको छ । दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ । २०१५ को टि-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो । २०१९ मा पाँच देश सम्मिलित टि-२० आई सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो । १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो ।

मौसम : मस्कटमा सामान्य वर्षाको सम्भावना छ । तापक्रम १९ देखि २२ डिग्री सेल्सियस सम्म रहनेछ ।

लाइभ : नेपालमा यस खेलको लाइभ हिमालय टिभी, ओएसआर स्पोर्ट्स युटुब र दराज एपबाट हेर्न सकिनेछ । विदेशमा फ्यान कोड र आइसिसी टिभीबाट हेर्न सकिने छ ।

सम्भावित कीर्तिमान

आजको खेलमा एक विकेट लिएमा सन्दीप नेपालबाट टि-२० आईमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्ने छन् । सन्दीपले यस सफलता २९ खेलमा प्राप्त गर्नेछन् । विश्वकै टि-२० आईमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने तेस्रो खेलाडी बन्नेछन् । सन्दीपले राशिद खान र इमरान ताहिरलाई पनि पछि पार्ने छन् । कुशल भुर्तेलले अर्धशतक बनाएमा टि-२० आईमा नेपालबाट सर्वाधिक अर्धशतक पाँचको पारस खड्कासँग बराबरी गर्नेछन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

आयरल्यान्डको टोली :
एन्डी बालबर्नी (कप्तान), पाउल स्टर्लिङ, शेन गेटकेट,जर्ज डोकरेल, ब्यारी म्याकार्थी, क्रेग योंग, एन्डी म्याकबर्नी, मार्क आदिर, कर्टिस क्याम्फर, लोर्कान टकर (विकेटकिपर), बेन ह्वाइट, जोश लिटिल, ह्यारी टेक्टर, सिमी सिंह, ग्यारेथ डेलानी, निल रक । (हाम्रो खेलकुद)

ओमान भ्रमणमा नेपालको खेल तालिका

चारदेशबीचको टि-२० आई सिरिज

माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, नेपाल ६ विकेटले विजयी

माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएईनेपाल २५ रनले पराजि

फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड, दिउँसो ३ः ४५

टि-२० विश्वकप छनोट

फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५

फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५

फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३ः ४५

फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १

फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २

फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १