एमाले संसदीय दलको बैठक बस्दै, महाभियोगविरुद्ध ‘काउन्टर’ रणनीति बनाउने

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्य ४ न्यायाधीशविरुद्ध पनि महाभियोगको गृहकार्य थालेको छ ।

सत्ता गठबन्धनले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि आकस्मिक रूपमा बसेको एमाले सचिवालय बैठकले काउन्टर दिने निर्णय गरेको थियो ।

महाभियोग प्रस्ताव दर्ता लगायत विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सोमवार बस्दैछ ।

संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे संसदीय दलको बैठक राखिएको छ । धेरै सांसद काठमाडौं बाहिर रहेका कारण उनीहरू काठमाडौं फर्केपछि केही ढिलागरी बैठक बस्ने तयारी रहेको छ ।

संसदीय दलको बैठकमा एमालेको ‘काउन्टर रणनीति’बारे छलफल हुने नेताहरूले बताएका छन् ।

आइतवार बसेको सचिवालय बैठकले महाभियोगबारे संसद्मा दर्ता प्रस्तावको काउन्टर संसदीय दलको बैठकमार्फत दिने बताएको थियो ।

असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनामार्फत केपी ओली सरकार विस्थापन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने एमालेको तयारी छ ।

चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आन्दोलन गरेका बेला एमालेले परमादेश जारी गर्ने अन्य न्यायाधीशलाई पनि महाभियोग लगाउनुपर्ने बताउँदै आएको थियो ।

राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएलगत्तै कार्की कामु प्रधानन्यायाधीश बनेका छन् ।

चारजना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भए न्यायालयको नेतृत्व हरिकृष्ण कार्कीकोमा जान सक्ने सम्भावना छ ।

चोलेन्द्र विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुख अग्नि सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । लोकान्तर