शंकास्पद ‘रेडियोधर्मी पदार्थ’ सहित ८ पक्राउ

काठमाडौँ — ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित प्रहरीले ह्यात रिजेन्सी होटलको पार्किङ्गबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार साँझ काठमाडौं बौद्ध क्षेत्रमा युरेनियमजस्तै देखिने ‘रेडियोधर्मी पदार्थ’ को संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई २ केजी ८ सय ग्राम ‘रेडियोधर्मी पदार्थ’ पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घरभई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घरभई काठमाडौं महानगर–६ महांकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगर–१४ का ६० वर्षीय नवराज महत, सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ घरभई ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, वरियापारपट्टी गाउँपालिका–१ घरभई ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घरभई गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत विहार प्रदेश गया चनादहोता घरका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा ६ बगैया कलुवाका ४४ वर्षीय राजु ठाकुर छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट सादा पोसाकमा परिचालित प्रहरीको सूचनाको आधारमा वृत्त बौद्धको टोलीले काठमाडौं महानगर–६ बौद्धस्थित ह्यात रिजेन्सी होटलको पार्किङबाट बा ५ च ८२०९ नम्बरको कारमा २ केजी ८ सय ग्राम शंकास्पद ‘रेडियोधर्मी पदार्थ’ बरामद गरेको हो ।

उक्त कारमा भूपेन्द्रबहादुर खड्का र नवराज महत फेला पारेको र सोधबुझ गर्दा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रुपैयाँमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले बा ५ च ८२०९ नम्बरको निजी कार, बा २६ प १६२८ नम्बरको मोटरसाइकल, भूपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्यूरिटीको परिचयपत्र र मोबाइल ९ थान बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीका अनुसार युरेनियम भनिएको पदार्थ बिक्रीकै लागि भारतीय नागरिक उपेन्द्रकुमार मिश्र र राजु ठाकुर काठमाडौं आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ८ जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट ‘रेडियोधर्मी पदार्थ’ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत मुद्दामा ७ दिन म्याद थपको अनुमति लिई वृत्त बौद्धले अनुसन्धान थालेको एसपी मैनालीले बताए ।

के हो युरेनियम ?

सन् १९४५ को अगस्टमा जापानको हिरोसिमामा एउटा १० मिटर ठूलो बम खस्यो । बम खसेको क्षणभरमै हिरोसिमा सहर नासियो । हजारौं मानिसहरूको ज्यान गयो । यो घटनामै हो संसारले पहिलो पटक देखेको ‘युरेनियम’ को शक्ति । एक केजी युरेनियमबाट दुई लाख मेगावाट इलेक्ट्रोनभोल्ट ऊर्जा उत्पादन हुने अमृत साइन्स कलेजमा भौतिकशास्त्र अध्ययनरत मदन भण्डारी बताउँछन् । युरेनियम प्राकृतिक रूपमा टुक्रिनका लागि पनि धेरै समय लाग्ने गर्छ ।

रसायनशास्त्रमा आधुनिक पेरियोडिक तालिकामा तत्त्वहरूलाई उनीहरूको आणविक संख्याको आधारमा वर्गीकरण गरेर राखिएको छ । उक्त तालिकाको ९२ नम्बरमा छ, युरेनियम अर्थात् ‘यू’ । रेडियोधर्मी पदार्थ भएकाले यसबाट विभिन्न प्रकारका विकिरणहरू आउने भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक राजु खनाल बताउँछन् । एक हजार १ सय ३२ डिग्री सेल्सियस तापक्रममा पग्लने युरेनियमका ‘यू–२३८’, ‘यू–२३४’, ‘यू–२३५’ जस्ता आइसोटप्सहरू पाइन्छन् । आइसोटप्स भनेको एउटै तत्त्वको धेरै न्युट्रोनहरू हुन्छन् । यू–२३८ प्राकृतिक रूपमा धेरै पाइने गरे पनि यू–२३५ प्रशोधन गरेर निकालिने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक एवं आणविक पदार्थ विज्ञ बुद्धराम साह बताउँछन् ।

युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज भएको उनले बताए । युरेनियम २३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइने उनले सुनाए । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाइने गरेको उनको भनाइ छ । यू–२३५ आणविक भट्टीमा प्रयोग हुने गरेको छ ।

‘यू–२३५ सजिलैसँग टुक्र्याउने सकिने भएकाले यो बम बनाउनका लागि प्रयोग हुन्छ,’ वरिष्ठ वैज्ञानिक साहले भने । प्रहरीले बरामद गरेको वस्तु युरेनियम नै हो भने यसलाई यति रकम नै पर्छ भन्न नसकिने बताए । अन्तर्राष्ट्रिय आणविक एसोसिएसनका अनुसार विश्वमा १० प्रतिशत विद्युत् युरेनियम प्रयोग गरिएका आणविक भट्टीहरूबाट उत्पादित हुने गरेको छ । युरेनियम मेडिकल, सैन्यलगायत क्षेत्रहरूमा प्रयोग हुने गर्छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नेपालमा मकवानपुरको तीनभंगाले, मुस्ताङको लोमन्थाङ र बैतडीमा युरेनियमका कणहरू भेटिएको बताए । उनले भने, ‘यी क्षेत्रहरूमा युरेनियमका कणहरू भेटिएकाले हामीले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं ।’ यो तत्त्व नेपालमा शुद्ध रूपमा पाइन्छ भन्ने सम्बन्धमा बृहत् अनुसन्धान नभएको बाँस्कोटाले बताए । नेपालमा यसको शुद्धता परीक्षण र अनुसन्धान गर्ने सबै उपकरणहरू नभएकाले थोरै अध्ययन भएको उनले बताए ।कान्तिपुरबाट