पुजारीको भेषमा अपराध, बम राख्नेलाई मोटरसाइकल

झापा ।  झापामा विस्फोटक पदार्थ राख्नेलाई मोटरसाइकल दिने अफर चलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शंकास्पद गतिविधि गर्दै आएको हिमाल सुरक्षा परिषद्ले जिल्लामा यस्तो अफर चलाएको प्रहरीले दाबी गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक जना पुजारीले बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर गरेको जनाएको छ । जिल्लामा शंकास्पद गतिविधि गर्दै आएका नौ जनालाई केही दिनअघि प्रहरीले सार्वजनिक गरेको थियो । जसमा एक पुजारी पनि थिए ।

झापाको कन्काई- ४, कोटीहोममा काम गर्दै आएका ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौलालाई प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । उनै सिटौलाले ‘बम’ राख्नेलाई मोटरसाइकलको अफर दिएको खुलेको हाे । उनले आफ्ना छिमेकी भीष्म थापालाई यस्तो अफर दिएका थिए ।

सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेस कुकर राखेको अभियोगमा कारागारबाट छुटेका एक व्यक्तिसँग मिलेका थिए । हिन्दु राज्य र राजतन्त्र पुनः स्थापनाको माग राखी उनकै कुटीमा पटक–पटक बैठक पनि बसेको झापा प्रहरीले जानकारी छ । सिटौलासहित नौ जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।