विद्युत् निर्यात बढ्यो, आयात घट्यो
आघिल्लो वर्षहरुको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युत्को आयातको परिमाण घटेको छ। गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकामा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ।
आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो। तर, चालु आवको ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ।
माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए। यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ।
विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्यो
चालु आवको ६ महिनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ। नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको ६ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ।
विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो। प्रणालीमा हुने चुहावमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ। यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ। प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
चुहावट घटेकोले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताए। घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे।
प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ।