धुलाबारीको भत्किएको सडकले गिज्याएपछि काँग्रेस तात्यो

धुलाबारी । धुलाबारीको प्रमुख सडक शहिद मार्ग भत्किएपछि दुर्घटनाको जोखिम बढेर गएको छ ।

धुलाबारी हुँदै शान्तिनगर जोड्ने उक्त सडकको अवस्था बेहाल छ । कालोपत्रे गरिएको भत्किएपछि अहिले खाल्डाखुल्डी परेर दैनिकजसो सवारी दुर्घटना हुन थालेको स्थानीयले बताए ।

सडक कालोपत्रे गर्न कुनै निकायले अहिलेसम्म चासो देखाएका छैनन् । पटक-पटक स्थानीयले आवाज उठाउँदासमेत उक्त सडक मर्मतमा ध्यान नदिएको भन्दै नेपाली काँग्रेसले भने चासो व्यक्त गरेको छ ।

काँग्रेसका जिल्ला, नगर तथा वडा समितिका नेताहरु बसेर शहिद मार्ग मर्मत तथा पुनः कालोपत्रे गर्न नगरपालिका तथा केन्द्र सरकारलाई दबाव दिने निणर्य गरेका छन् ।

मेचीनगरको थोप्लेविरान वन परिसरमा स्थानीयसहित बसेको भेलामा शहीद मार्गको तत्काल मर्मतका लागि सम्बन्धित निकायमा बजेट माग गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेस नगर सचिव मुकेश लिम्बूले बताए ।

उनले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने र केन्द्र सरकारसँग बजेट माग गरिने बताए । ‘धुलाबारी सडकको अवस्था अहिले बिजोग छ,’ उनले भने, ‘यसको मर्मत सम्भार गरिएन भने दुर्घटना झन् बढेर जाने खतरा छ ।’

भेलामा काँग्रेसका पूर्व जिल्ला सचिव प्रेम सोम्वाहाम्फे, जिल्ला सदस्य रमेश दाहाल, नगर उपसभापति धनकाजी दाहाल, सचिव मुकेश लिम्बू, मेचीनगर वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्का लगायतको उपस्थिति रहेको थियो ।

मेचीनगरको बहुप्रतिक्षित मार्गको रुपमा रहेको उक्त सडकखण्ड इलामसँग जोडिन्छ । व्यापारिक हिसाबले पनि उक्त मार्ग प्रयोग हुँदै आएको छ । पहाडी क्षेत्रको नगदेबाली ल्याएर भारत निर्यात गर्न व्यवसायीले उक्त सडक प्रयोग गर्ने गरेका छन् ।

धुलाबारीको भत्किएको सडकले यतिखेर सबैलाई गिज्याइरहेको छ । नगर तथा केन्द्रसँग पहुँच राख्ने व्यक्ति तथा नेताहरुको धुलाबारीमा स्थायी बसोबास रहेको छ । काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मादेखि संघीय सांसद राम कार्की यसै क्षेत्रका बासिन्दा हुन् । तर, सडकको मर्मतमा कसैबाट पहल हुन नसक्नु दुखलाग्दो विषय भएको स्थानीय कुमार शर्माले बताए ।