को बन्ला अब मेचीनगरको मेयर ?

मेचीनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै मेचीनगरमा अब को मेयर र उपमेयर तथा वडाध्यक्ष बन्लान् ? भनेर चर्चा सुरु हुन थालेको छ ।

मेचीनगरमा क्रियाशील प्रमुख राजनीतिक दलहरु यतिखेर आन्तरिक छलफलमै व्यस्त देखिएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी (एस), जसपा, राप्रपालगायतका दलहरु चुनाव केन्द्रित भएपनि आफ्ना उम्मेद्वारका विषयमा मुख खोलेका छैनन् ।

०७४ सालमा भएको स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेद्वार विमल आचार्य मेचीनगर प्रमुख भएका छन् । त्यस्तै, एमालेकी मीना उप्रेती पोखरेल उपप्रमुख छिन् । त्यसबेलाको निर्वाचन नतिजा अनुसार मेचीनगरमा एमाले बलियो थियो । अर्थात मेचीनगरमा एमालेको बहुमत सदस्य निर्वाचित भएका छन् ।

तर, अहिले परिस्थिति ०७४ सालको भन्दा फरक छ । यसबीचमा एमाले फुटेर एस पार्टी बनेको छ । यसले गर्दा एमाले पहिलेको अवस्थाबाट केही खस्किने अनुमान गर्न थालिएको छ । फुटको असरले नेपाली काँग्रेसलाई फाइदा पुग्ने अनुमान अर्कातिर गरिएको छ । माओवादी र एस पार्टी भने ‘मिलेर गए’ फाइदा लिने रणनीतिमा देखिन्छन् ।

मेचीनगरमा एमालेबाट मीना उप्रेती पोखरेल, डिल्ली घिमिरे, देवकुमार राई र नीलकण्ठ तिवारी मध्ये एक अबको मेयरको उम्मेद्वार बन्ने चर्चा बजारमा सुरु भएको छ । पार्टीले अहिलेसम्म कुनै निणर्य नगरे पनि उनीहरुले मेयरको उम्मेद्वार बन्ने इच्छा देखाएको एमाले स्रोत बताउँछ ।

पार्टी भित्र र बाहिर राम्रो छवि बनाएका एमाले नेता गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीको नाम पनि उत्तिकै चर्चामा छ । दुवैजना प्रदेश सांसद हुन् । जनमत र जनसम्पर्कका आधारमा बुढाथोकी बलियो देखिए पनि उनले मेयरको उम्मेद्वार बन्ने इच्छा प्रकट गरेको भने खासै सुनिएको छैन । यद्यपि, पार्टीले उनलाई मेयरको टिकट दिए पछि नहट्ने संकेत गरेका छन् ।

यता, मेचीनगर प्रमुख विमल आचार्य फेरि मेयर दोहोर्याउने पक्षमा छन् । केही महिना अघि सञ्चारमाध्यममार्फत उनले घुमाउरो पारामा फेरि मेयरमा उठ्ने संकत गरिसकेका छन् । काँग्रेसका आचार्यबाहेक जिल्ला उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्र बुढाथोकीको नाम पनि चर्चामा छ ।

१५ वटा वडा रहेको मेचीनगरमा अबको चुनावमा काँग्रेस र एमाले बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रले उपप्रमुखसहित केही वडाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिरहेको छ ।

यदि गठबन्धनले निरन्तरता पाए मेचीनगरमा पनि सीट बाँडफाँड गरेर चुनावी मैदानमा उत्रने सम्भावना उत्तिकै देखिन्छ । यसले भने नतिजामा फेरबदल ल्याउनसक्ने आँकलन भइरहेको छ । जन संसद् दैनिक