सुपारी आयात खोल्न सबैतिर सेटिङ !

झापा । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले रेमिटेन्समा कमी आएको पूर्वाभास पाइसकेका थिए । यही तथ्यलाई इंगित गर्दै उनले उद्योग संगठन मोरङको एक कार्यक्रममा तीन वर्षअघि भनेका थिए, ‘अब भारतका लागि धेरै आयात हुने सुपारी, मरिच, केराउ र छोकडाको पैठारीमा हामी कडाइ गर्नेछौँ ।’ खतिवडाले घोषणा गरेको करिब ८ महिनापछि मात्र चारै वस्तुको आयातमा सरकारले परिमाणात्मक बन्देज लगायो । तर, यही बन्देज पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अहिलेका शेरबहादुर देउवासम्मका लागि भाग्यशाली चिठ्ठा सिद्ध भएको छ ।

खतिवडाले मुलुकको परिवर्त्य विदेशी मुद्राको सञ्चितिकै लागि परिमाणात्मक बन्देजको अवधारणा ल्याएका थिए । तर, यो अवधारणालाई टोकरीमा मिल्काएर चालु आर्थिक वर्षका लागि पनि मन्त्रीपरिषदको बैठकले २५ हजार टन सुपारीसहित चारै वस्तुको आयातका लागि गोप्यरूपमा कोटा खुलाको निणर्य भइसकेको छ ।

देउवा सरकारले गोप्यरुपमा आयात अनुमति पाएका कम्पनी पूरानै छन्, जुन ओलीका पालाका थिए । सुपारी आयातकर्ताले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिझाएर राम्रै नाफा कमाइरहेका छन् ।

२५ हजार टन सुपारीमा व्यवसायीलाई कति फाइदा हुन्छ ? नेपालमा सुपारी आयात इन्डोनेसियाबाट हुन्छ । एक व्यवसायीका अनुसार इन्डोनेसियामा अहिले १ टन सुपारीको मूल्य २५ सय डलर छ । यो मूल्य सिआइएफ कोलकाताको हो । नेपालमा अहिले डलरको मूल्य करिब १२१ रुपैयाँ छ ।

यो हिसाबले सिआइएफ कोलकाताका लागि एक टन सुपारीको मूल्य ३ लाख २ हजार ५ सय हुन्छ । कोलकाताबाट विराटनगरको आइसिपीसम्म एक टन सुपारी ल्याउँदको खर्च १० हजार ५ सय लाग्छ । यो हिसाबले आइसिपीसम्म एक टन सुपारी आइपुग्दा ३ लाख १३ हजार रुपैयाँ पर्छ । यसमा भन्सार महसुल प्रतिकिलो ४५ र अन्तःशुल्क प्रति किलो २५ रुपैयाँ गरी ७० रुपैयाँको राजस्व तिर्नुपर्छ ।

यसरी प्रतिकिलो ७० का दरले एक टनको ७० हजार पर्छ । आइसिपीसम्म एक टन सुपारी ३ लाख १३ हजार रुपैयाँमा आइपुगेको थियो । त्यसमा ७० हजार राजस्व थपिँदा ३ लाख ८३ हजार रुपैयाँ भयो । अब यसमा भ्याट १३ प्रतिशत लाग्दछ । ३ लाख ८३ हजारको भ्याटको रकम ४९ हजार ७९० रुपैयाँ हुन्छ । भ्याट जोड्दा एक टन सुपारीको मूल्य ४ लाख ३२ हजार ७९० रुपैयाँ हुन आउँछ ।

यसमा फुटकर भाडा, भन्सारमा बुझाउनुपर्ने दस्तुरी आदि गर्दा टनमा १० हजार रुपैयाँको खर्च छ । १० हजारसमेत खर्च जोडेर एक टन सुपारी विराटनगर वा झापाका व्यवसायीका गोदाममा आइपुग्दा त्यसको परल मूल्य ४ लाख ४२ हजार ७९० रुपैयाँ हुन आउँछ । यस हिसाबले एक किलोको ४४२ रुपैयाँ ७९ पैसा हुन्छ । यो हिसाबले २५ हजार टन सुपारी विराटनगर आइपुग्दा त्यसको परल मूल्य ११ अर्ब ६ करोड ९७ लाख ५० हजार हुने देखिन्छ । यही सुपारीलाई आयातकर्ताले प्रतिकिलो ६ सयदेखि ६५० रुपैयाँ सम्ममा विक्री गरिरहेका छन् । विराटनगरका एक होलसेलरले आफूले आयातकर्ता दिनेश राठीसँग ६४० का दरले सुपारी खरिद गरेको जानकारी दिए ।

ठूलो परिमाणमा सुपारी खरिद गर्नेले प्रति किलो ६ सयसम्ममा पनि पाइरहेका छन् । कारोबारीका अनुसार अहिलेका हिसाबमा सुपारी आयात गर्नेलाई प्रतिकिलो सरदर १५० रुपैयाँ नाफा छ । प्रतिकिलो १५० का दरले टनमा १ लाख ५० हजार र २५ हजार टनमा ३ अर्ब ७५ करोडको फाइदा हुन्छ ।

सीमा क्षेत्रमा तस्करी गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई किलोको १५-१५ रुपैयाँका दरले छुट्टाछुट्टै बुझाउनु पर्छ । जानकारका अनुसार पूर्वमा सुपारीको तस्करी हुने मुख्य नाकामा मोरङको रतुवामाई नगरपालिकाको झुर्किया, सुनबर्सी गाउँपालिकाको सिक्टी, रंगेली नगरपालिकाको चोप्रा, धनपालथान गाउँपालिकाको खयरबोना र नोचा तथा विराटनगर महानगर क्षेत्रभित्रका बुधनगर, इस्लामपुर, मटेरवा र दरैया लगायतका छन् ।

त्यस्तै, सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भूटाहा र अमडुवा पनि तस्करीका मुख्य केन्द्र भएको प्रहरी स्रोतको दाबी छ । यसबाहेक कोशी पश्चिमका दक्षिणी सीमान्त क्षेत्रबाट पनि ठूलो लाइन चल्ने गरेको छ ।

भारत सरकारले सुपारीको भन्सार मूल्यांकन टनको २६ सय डलर निर्धारण गरेको छ । त्यस्तै, आयात भन्सार महसुल १११ प्रतिशत र जिएसटी २८ प्रतिशत तोकेको छ ।

टनको २६ सय डलरका हिसाबले कोलकाता वन्दरगाहमा इन्डोनेसियाबाट सुपारी आइपुग्दा नेरु ३ लाख १४ हजार ६०० पर्छ । किनकि उक्त मूल्य सिआइएफ कोलकाताको नै हो । यसका १११ प्रतिशत भन्सार महसुल भनेको ३ लाख ४९ हजार २०६ रुपैयाँ हो । भन्सार महसुल जोड्दा टनको ६ लाख ६३ हजार ८०६ रुपैयाँ हुन आउँछ ।

यसमा २८ प्रतिशत जिएसटी भनेको १ लाख ८५ हजार ८६५ रुपैयाँ हुन्छ । उक्त रकम जोड्दा प्रति टनको ८ लाख ४९ हजार ६७१ रुपैयाँ हुन आउँछ । यो हिसाबले भारतीय आयातकर्ताले कोलकाता वन्दरगाह हुँदै सुपारीको पैठारी गर्दा वन्दरगाहमै टनको नेरु साढे ८ लाख र किलोको नेरु ८५० पर्ने देखिन्छ ।

यता नेपालमा पैठारी गर्दा र विराटनगरको गोदामसम्म आइपुग्दा किलोमा ४४२ रुपैयाँ ७९ पैसा पर्ने हिसाब माथि नै उल्लेख भइसकेको छ । भारतको राजस्व संरचनाका कारण लागतमा पर्ने यही ठूलो अन्तरले नै नेपालका आयातकर्ता सुपारीको कारोबारमा पल्किएका हुन् ।