मन्दिरका दातासहित सहयोगी अग्रज सम्मानित

धुलाबारी । सनातन धर्म सेवा समिति मेचीनगर-९ ले दाता तथा अग्रजहरुलाई सम्मान गरेको छ ।

मन्दिर परिसरमा मंगलबार आयोजित कार्यक्रममा हवन कुण्ड र तुलसीको मोठ निर्माण गरिदिने उप्रेती दाता परिवारलाई सम्मान गरिएको हो । दाताहरु बालकृष्ण उप्रेती, लक्ष्मीप्रसाद उपेती/गीता उप्रेती, रामप्रसाद उप्रेती, तिलकप्रसाद उप्रेतीलाई सम्मान गरिएको होे । समाजसेवी उप्रेती परिवारले ३ लाख रुपैयाँ बढी खर्चेर मन्दिर परिसरमा हवन कुण्ड र तुलसीको मोठ निर्माण गरिदिएका हुन् ।

सोही अवसरमा सहयोगी अग्रजहरु भगिरथ शर्मा, रामप्रसाद बाँस्तोला, लक्ष्मीप्रसाद भण्डारी, गोपीकृष्ण आचार्य, लक्ष्मीमाया चापागाईं, गोविन्द दाहाल, श्याम पाठकलाई सम्मान गरिएको थियो । उनीहरुले विभिन्न समयमा मन्दिरको भौतिक पूर्वाधार विकास र सञ्चालनमा सहयोगी भूमिका खेलेका छन् । सोही अवसरमा अक्षयकोष दाताहरुलाई पनि सम्मान गरिएको समितिका सचिव हेमेन्द्र निरौलाले बताए ।

सनातन धर्म सेवा समितिका अध्यक्ष निधिराम पौडेलको अध्यक्षता तथा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि फलाहारी, मेचीनगर वडा नंं ९ का वडाध्यक्ष गोपाल खड्का, दाता परिवारको तर्फबाट लक्ष्मीप्रसाद उप्रेती, पुण्यप्रसाद तिवारीले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव हेमेन्द्र निरौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा पौडेलले गरेकी थिइन् । २०४४ सालमा स्थापित उक्त संस्थाले सेवामूलक धार्मिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । मन्दिर परिसरमा आकर्षक शिवालय तथा सत्संग भवन रहेको छ ।