काँकरभिट्टा नाकाबाट पर्यटक : आउने घटे, जाने बढे

काँकरभिट्टा । कोरोना भाइरस कोभिड-१९ को संक्रमण केही मत्थर भए पनि नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर पैदल मार्ग हुँदै भित्रिने पर्यटकको संख्या बढ्न सकेको छैन ।

अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०२२ को जनवरी १ देखि मार्च ६ तारिखसम्म काँकरभिट्टा नाका भएर ५२६ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । त्यसमा पनि विदेशीको संख्या भने न्यून रहेको कार्यालय प्रमुख रेवन्त भट्टराईले बताए ।

उनका अनुसार त्यो अवधिमा २० जना विदेशी त्यसमा पनि अधिकांश भुटानी नागरिक नेपाल प्रवेश गरेका छन् । बाँकी सबै नेपाली हुन् । यसैगरी, यो नाका हुँदै कुल ३२० जना विदेसिएका छन् ।

२८३ नेपाली र ३७ विदेशी नागरिक पूर्वी नाका भएर बाहिरिएको कार्यालय प्रमुख भट्टराईको भनाई छ । नेपालमा विदेशी पर्यटकलाई आवतजावतमा केही खुकुलो भए पनि भारततर्फ कडाइ गरेका कारण पर्यटकको संख्यामा कमी आएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् ।

भारतको पश्चिम बंगाल राज्यकोे पानीट्यांकीस्थित रानीगञ्ज नाकासँग नेपालको काँकरभिट्टा नाका जोडिएको छ । पर्यटकलाई भिषा जारी गरेवापत कार्यालयले यो अवधिमा २१ हजार ८१६ अमेरिकी डलर अर्थात २६ लाख रुपैयाँको हाराहारीमा राजस्व संकलन गरेको छ ।

उक्त रकम भिषा जारी गरेभन्दा पनि चालु आर्थिक वर्ष २०७७/२०७८ बाट कार्यालयले ‘एनआरएन’ ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नवीकरण गर्ने जिम्मेवारी पाएको थियो । सो बापत बढी राजस्व संकलन भएको छ ।

कार्यालयले १५ दिनका लागि भिसा जारी गरे बापत युएसए ३० डलर, ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एकसय २५ डलर लिने गरेको छ ।

कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढेपछि पश्चिम बंगाल सरकारले पानीट्यांकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने बंगलादेशी तथा अन्य मुलुकका पर्यटक नआउँदा कार्यालयको राजस्व नराम्ररी प्रभावित बनेको छ ।

कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०७६/२०७७ पनि भिसा जारी गरे वापत १ करोड १ लाख २३ हजार ७४० रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/२०७८ पैदलमार्ग भएर पूर्वी नाका भएर नेपाल आउने पर्यटक ठप्प भएपछि भिसा जारी वापतको राजस्व शून्य छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७७/२०७८ मा ‘एनआरएन’, ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नवीकरण गरे बापत ५० लाख ६४ हजार ४२१ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७/२०७८ बाट कार्यालयले ‘एनआरएन’ ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नवीकरण गर्ने जिम्मेवारी प्राप्त गरेयता कार्यालयले शुल्क लिने गरीका विभिन्न खालका २६९ वटा भिसा नवीकरण तथा जारी गरेको थियो ।

एकवर्षको अवधिमा ३५० वटा भिसा जारी गरेपनि ८१ वटा भिसामा निःशुल्क जारी गरेको कार्यालयले जनाएको छ । एनआरएन र १० वर्ष मुनिकालाई अमेरिका बाहेकका अन्य देशमा जानका लागि निःशुल्क भिसाको व्यवस्था सरकारले गरेको छ ।

अध्यगमन विभागले कोभिड-१९ को दोस्रो लहरका कारण जारी गरेको लकडाउन अवधिभरको भिसामा लाग्ने विलम्ब र जरिवाना निःशुल्क गरेको थियो । त्यस लगत्तै सम्बन्धित कार्यालयमा भिसा नवीकरण धमाधम हुन थालेको थियो ।