सुनको भाउ १ लाख ३ हजार पुग्यो

काठमाडौँ — सोमबार सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार १४२५ रुपैयाँ प्रतितोला कारोबार भएको छ । आइतबार १४१५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघले जनाएको छ । महासंघका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।