झापा गोल्डकप : एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

झापा । सातदोबाटो यूथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बिर्तामोड नगरपालिका– ३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइलन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि सातदोबाटोले जावलाखेल यूथ क्लबलाई पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेका थिए ।

सातदोबाटोका सुशील राईले खेलको ८२औँ मिनेटमा गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए । तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।

४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।

मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टार क्लबबिच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

महिलालाई प्रवेश निःशुल्क

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महिलाले मंगलवारको खेल हेर्न कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।