झापा गोल्डकपः संकटा सेमिफाइनलमा

झापा । संकटा क्लब पाँचौ झापा झापा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको बलले पोस्टको दिशा पायो । ६३औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

त्यसअघि खेलको दोस्रो मिनेटमा थ्री स्टारका रितिक खड्काले पेनाल्टी बक्सबाट गरेको हेडर संकटाका गोलकिपर रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४६औँ मिनेटमा थ्री स्टारका रितिकले १८ यार्ड बक्सबाट गरेको प्रहार रोहितले जोगाए । खेलको ७०औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाए । ७५औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको म्यान अफ द म्याच संकटाका गोलकिपर रोहित कार्की चुनिए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ पाए ।

संकटाले सेमिफाइलनमा आयोजक झापा ११ फुटबल क्लब र आरपी एफसी, सिक्किमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलपछि थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल मिल्न नसकेको बताए । यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।

बुधबारको क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारतको दार्जिलिङको एमएफसीबीच हुने आयोजकले जनाएको छ ।