प्रहरीको मिलेमतोमा अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्रिँदै

मेचीनगर । भारतसँग जोडिएको झापाको सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिने गरेको पाइएको छ । भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ ।

तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको व्यापारीहरूको दाबी छ ।

मेचीनगर-१५ स्थित कालिका चिया बगान नजिकको ९७र१ नम्बरको सीमास्तम्भ, भद्रपुर-५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर– ५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको स्थानीयवासी बताउँछन् । भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको जानकारी दिए ।

तर‚ व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्सा र ट्याम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पुर्‍याउने गर्छन् । उनीहरूले सोमवार, बुधवार, शुक्रवार र शनिवार फलफूल, तरकारी र माछा भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

कालिका बगानमा सशस्त्र प्रहरीको बिओपी ज्यामिरगढीका टोली, घोडामारा प्रहरी चौकीका टोली खटिएको हुन्छ । भद्रपुरको देवीवस्ती नजिकै सशस्त्रको पोस्ट नै छ । झोलुङ्गे पुल नजिकै सशस्त्रको बओपी मेचीपारि, मेचीपारि प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ । स्रोतका अनुसार अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्राए बापत व्यापारीले सशस्त्र र नेपाल प्रहरीका इन्चार्जलाई मासिक ५ देखि १० रूपैयाँसम्म दिने गरेका छन् । यस्तै‚ ड्युटीमा खटिएका प्रहरीले प्रतिसाइकल ५० देखि १०० रुपैयाँ रकम असुल्दै आएको स्रोत बताउँछ ।

प्रहरीको मिलेमतोमा अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्रिँदा आफूहरू मारमा परेको व्यापारीहरू बताउँछन् । अवैध बाटोबाट ल्याउनेहरूले सस्तो मूल्यमा बिक्री गर्ने र भन्सार शुल्क तिरेर ल्याएका आफूहरूले उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको तरकारी व्यापारी पंकज कसेराले गुनासो पोखे ।

तरकारी व्यापारी दिलिप महतोले भारतीय व्यापारीहरूले पनि भन्सार शुल्क तिरेरै तरकारी र फलफूल भित्राउनु पर्ने बताउँछन् । त्यसो गरे आफूहरूको कुनै गुनासो नरहेनले उनको भनाइ छ । भन्सार छलेर अवैध बाटोबाट तरकारी र फलफूल भित्र्याउने काम तुरुन्त बन्द गर्नुपर्ने उनको माग छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले विषादी परीक्षणविना अवैध बाटोबाट तरकारी, फलफूल र माछालगायतका सरसामान भित्रिरहेको विषयमा आफूलाई जानकारी नभएको बताए । यस्तो पाइए तुरुन्त बन्द गराउन प्रहरी कार्यालयहरूका इञ्चार्जलाई निर्देशन दिने र गलत काम गर्नेलाई कारवाही गर्ने उनले बताए । पोखरेलले भने, ‘गलत क्रियाकलापमा लागेका प्रहरी कर्मचारीलाई तुरुन्त विभागीय कारबाही गर्छौं ।’

त्यस्तै‚ सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदिपजंग कार्कीले भन्सार छलेर र विनापरीक्षण तरकारी, फलफूल र माछा आयात गर्ने नपाइने र त्यस्तो पाइए तुरुन्त रोक्न बिओपी इञ्चार्जहरूलाई निर्देशन दिने बताए ।

भन्सार आउन छाडियो तरकारी र फलफूल

कोरोना महामारीले भद्रपुर नाका करिब २० महिना ठप्प रह्यो । गत कात्तिक ११ गतेदेखि मात्र भद्रपुर–गलगलिया नाका सहज भएको छ । नाकाबाट आउजाउ सहज भए पनि भद्रपुर भन्सारबाट तरकारी, फलफूल र माछा आयात भएको छैन ।

सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले साइकलमा सामान नेपाल भित्राउन रोक लगाएको छ । भन्सार प्रमुख मिश्रले भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको जानकारी दिए । कोरोनाअघि भद्रपुरको मेची पुलबाटै ती वस्तु आयात हुन्थे ।

भद्रपुरको मुख्य नाकाबाट साइकलमा तरकारी, फलफूल र माछा भित्र्याउन नदिएपछि भारतीय व्यापारी र किसानले प्रहरीसँगको मिलेमतोमा अवैध बाटोबाट ती सामान विनापरीक्षण भित्राइरहेको स्थानीयहरू बताउँछन् ।

भारतबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गराउनु पर्ने प्रमुख मिश्र बताउँछन् । विषादी परीक्षणपछि मात्र भन्सारले ५ देखि ८ प्रतिशतसम्म कृषि सुधार शुल्क लिएर तरकारी र फलफूलको जाँच पास गराउने उनले जानकारी दिए ।

सरकारले भन्सार ल्याउने सबै प्रकारका तरकारी र फलफूलमा हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था राखिएको छैन ।

‘तर कानुनी प्रावधान चाहिँ झन्झटिलो छ,’ उनले भने, ‘भन्सार ल्याएका तरकारी र फलफूलको स्याम्पल लिएर पहिला खाद्य क्वारेनटाइन काँकडभिट्टा जानुपर्छ, त्यसपछि विषादी जाँचका लागि बिर्तामोड जानुपर्ने हुन्छ ।’

त्यही भएर भद्रपुर भन्सारमा तरकारी र फलफूल नआएको उनले बताए । सरकारले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागु गरेपछि भारतबाट माछा आउन बन्द भएको छ। माछामा अनिवार्य एलसी लागु गरिएको उनको भनाइ छ ।