कांग्रेसका प्रदेश सभापति भन्छन्- ग्राउन्डको सन्देश चुनावमा गठबन्धन गर्नुहुँदैन भन्ने छ

काठमाडौँ — सत्ता गठबन्धनबीच चुनावी गठबन्धन गर्ने वा नगर्ने मतभेद चर्किरहेका बेला नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले भने चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् । प्रदेश सभापतिहरूले पार्टीको चुनावी अभियानमा स्थानीय नेता कार्यकर्ताले सबैभन्दा बढी गठबन्धन गर्ने कि नगर्ने भन्ने प्रश्न तेर्स्याएको बताए । गठबन्धन नगरी नहुने परिस्थिति भए राष्ट्रियरुपमा नभई स्थानीय आवश्यकतामा आधारित पार्टीका स्थानीय कार्यसमितिकै निर्णयका आधारमा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

गठबन्धनबारे कांग्रेसले अहिलेसम्म प्रस्ट धारणा राखेको छैन । तर, गठबन्धनका दुई घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भने चुनावी गठबन्धन अहिलेको आवश्यकता भन्दै वकालत गरिरहेका छन् । ती दलका नेताले गठबन्धनबारे प्रश्न उठाएपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिने बताउने गरेका छन् ।

देउवाले बिहीबारमात्रै पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी चुनावमा गठबन्धन गरेर अघि बढ्ने वचन दिएका थिए । तर, गठबन्धनबारे कांग्रेसभित्र चर्को मतभेद छ ।

कांग्रेसका प्रदेश सभापतिहरूले समेत पार्टीका तल्ला तहका नेता कार्यकर्ताले चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । हाल सात प्रदेशमध्ये गण्डकी र लुम्बिनीबाहेक सबै प्रदेशमा सभापति देउवा पक्षका नेताहरू प्रदेश सभापति छन् । तर, ती प्रदेशका सभापतिले समेत पार्टी संगठनको ग्राउन्डको म्यासेज गठबन्धन गर्न नहुने पक्षमा रहेको सुनाए ।

देउवाको गृहप्रदेश सुदूरपश्चिममै कांग्रेसका नेता कार्यकर्ता गठबन्धनको पक्षमा छैनन् । देउवानिकट प्रदेश सभापति विरबहादुर बलायरले चुनावमा गठबन्धन गर्न सक्ने अवस्था नरहेको बताए । ‘कांग्रेसले केन्द्रमा गठबन्धन सरकारको नेतृत्व गरेको छ, प्रदेशमा पनि गठबन्धनको सरकार छ, तर हामीले त्यो गठबन्धन भएको अनुभूति गर्न पाएका छैनौं,’ बलायरले इकान्तिपुरसँग भने, ‘हामी सरकारमा हो कि विपक्षमा हो ? ठम्याउन सकेका छैनौँ, सुदूरपश्चिम कांग्रेस चुनावी गठबन्धनको पक्षमा छैन ।’

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनको शक्ति दुरुपयोग गरेको भन्दै प्रदेश सभापति बलायरले अब अरूको घर जोगाउने नाउमा आफ्नै घरमा आगो लगाउन नहुने बताए । ‘गठबन्धनको आडमा सरकार बनेको छ, तर त्यही सरकारले हामीमाथि नै आक्रमण गरिरहेको छ, त्यो पनि सरकारी स्रोत साधनको दुरुपयोग गरेर,’ उनले प्रश्न गर्दै अघि भने, ‘अब उहाँहरूको पार्टी जोगाउन हामीले कसरी आफ्नै पार्टीमाथि पेट्रोल छर्केर सलाई कोर्न सकिन्छ र ?’

उनले कांग्रेसले कसैको स्वार्थको लागि गठबन्धन गर्न नहुने बताए । ‘हामीले विगतमा पनि गठबन्धनको अभ्यास गर्‍यौँ, त्यसले कांग्रेसलाई कुनै फाइदा भएन, अहिले गठबन्धन गरेर केन्द्रमा सरकार छ, त्योबाहेक कुनै सहअस्तित्वको भावना देखिएको छैन,’ बलायरले भने, ‘उहाँहरूको स्वार्थ पूरा हुँदा गठबन्धन नचाहिने, तर चुनावमा चाहिँ हामीले गठबन्धन गरिदिनुपर्ने आवश्यक छैन । फेरि अहिलेको गठबन्धनलाई अर्थहीन बनाएर भोलिको गठबन्धनको अर्थ खोज्न सकिँदैन ।’

कांग्रेसले अहिले देशभरि चुनावी अभियान चलाएको छ । कर्णाली प्रदेश सभापति ललितजंग शाहीले चुनावी अभियानमा गाउँ–गाउँ पुग्दा कार्यकर्ताले गठबन्धन गर्न नहुने पक्षमा जोड दिएको बताए । ‘कर्णालीका नेता कार्यकर्ता गठबन्धनको पक्षमा छैनन्, एक्लै चुनाव लड्नुपर्छ, गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमै धेरै साथीहरूको जोड छ,’ शाहीले इकान्तिपुरसँग भने, ‘एक्लै चुनाव लड्यो भने जितहार आफ्नो ठाउँमा छ, मुख्यतः यो बीचमा कांग्रेसले लिएको एजेन्डा र अडानको शक्ति परीक्षण हुन्छ ।’

उनले अहिले चुनावी अभियानको क्रममा आफूहरूले कर्णालीवासीको भावनालाई बुझेको भन्दै अभियानको क्रममा कार्यकर्ताले मुख्य चासोका साथ गठबन्धन गर्ने कि नगर्ने भनेर प्रश्न उठाएको बताए । ‘अहिले चुनावी अभियान चलेको छ, साथीहरूको प्रश्न नै त्यही छ, कि गठबन्धन हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘साथीहरूको बीचमा एक्लै–एक्लै चुनाव लड्नुपर्छ भन्यो भने परर ताली बज्छ, कर्णाली गठबन्धनको पक्षमा छैन ।’ उनले कतिपय ठाउँमा माओवादी केन्द्रको बढी नै ज्यादती भएकाले त्यस्ता ठाउँमा भने माओवादीविरुद्व अर्को दलसँग गठबन्धन गर्नुपर्ने माग रहेको बताए ।

सुदूरपश्चिम र कर्णालीमा जस्तै मधेसका कार्यकर्तासमेत गठबन्धनको पक्षमा देखिएका छैनन् । मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले इकान्तिपुरसँग भने, ‘कांग्रेस राणाकालदेखि नै एक्लै लड्दै आएको पार्टी हो, कांग्रेसलाई कसैको सहारा चाहिएको छैन, चाहिँदैन । हामी मधेस प्रदेशमा एक्लै लड्न तयार छौं, स्थानीय तहका कार्यकर्ताको कुरा यही हो ।’

उनले पार्टी केन्द्रले स्थानीय तहसँग समन्वय नगरी गठबन्धन गर्नेबारे निर्णय गर्न नमिल्ने बताए । ‘मधेसमा कांग्रेस एक्लै लड्न सक्ने अवस्थामा छ,’ यादवले इकान्तिपुरसँग भने, ‘अहिले सत्ता गठबन्धन छ, त्यसैले गठबन्धनको चर्चा आएको हो । तर, केन्द्रले हामीलाई नसोधी, यहाँको स्थानीय जनताको भावना र चाहनालाई समन्वय नगरी गठबन्धन गर्ने निर्णय गर्न पाउँदैन ।’ यादवले मधेसमा विगतमा भन्दा कांग्रेसको संगठन नै मजबुद बनेको र एक्लै प्रतिस्पर्धा गर्दासमेत कांग्रेसको पोजिसन राम्रो रहेको दाबी गरे ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि आफ्नो प्रदेशमा केन्द्रबाट लादिएको गठबन्धन स्वीकार्ने अवस्था नरहेको बताउँछन् । ‘आमनेता कार्यकर्ताको माग गठबन्धन गर्नुहुँदैन भन्ने छ । तर, कतिपय ठाउँमा गठबन्धन गर्नुपर्छ भन्ने माग समेत छ,’ पुनले अघि भने, ‘त्यसैले केन्द्रबाट गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेभन्दा पनि सम्बन्धित स्थानीय तहलाई नै त्यसबारे निर्णयको अधिकार दिनु राम्रो हुन्छ, पार्टीको विधानले पनि त्यही भनेको छ । अन्यथा केन्द्रबाट लादिएको निर्णयले पार्टीलाई फाइदा पुग्दैन । तल्ला तहले त्यस्तो निर्णय मान्न सकिँदैन ।’

उनले विधानले उम्मेदवार चयनकै अधिकार समेत तल्ला तहलाई दिएकाले त्यसको सुविधाजनक कार्यान्वयन हुनुपर्ने बताए । ‘स्थानीय आवश्यकता के हो ? कार्यकर्ताको भावना के हो ? भनेर केन्द्रले बुझिदिनुपर्छ, विधानले त्यही व्यवस्था गरेको छ, त्यसैले ठाउँविशेष गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिनुपर्ने अवस्था छ,’ उनले भने ।

प्रदेश १ मा पनि लुम्बिनीमै जस्तै दुईथरी मत छ । प्रदेश सभापति उद्धव थापाले गठबन्धनबारे दुईथरी मत रहेको सुनाए । ‘हामी प्रदेशभरि चुनावी अभियान लिएर गाउँ–गाउँ पुगिरहेका छौं, चुनावी माहोल पनि बनेको छ,’ उनले भने, ‘तर गठबन्धनको विषयमा विभिन्न मत छन्, धेरै साथीहरूको जोड चाँहि आवश्यकताको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने छ, कतिपय साथीहरू गठबन्धन आवश्यक नभएको भन्दैछन् ।’

उनले सबै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिनेबारे समेत छलफल भएको बताए । ‘दलीय गठबन्धन अहिले संस्कार बनेको छ । तर स्थानीय तहको चुनावमा गर्ने गठबन्धनबारे पार्टीको स्थानीय तहलाई निर्णयको अधिकार दिइनुपर्छ,’ उनले भने, ‘कहाँ गठबन्धन गर्ने, कहाँ नगर्ने भन्नेबारे स्थानीय तहलाई नै निर्णयको अधिकार दिइनुपर्छ भन्ने धेरै साथीहरूको माग छ, मैले त्यही कुरा केन्द्रलाई जानकारी गराएको छु ।’

हाल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को सत्ता गठबन्धन छ । नौ महिनाअघि बनेको सत्ता गठबन्धनलाई चुनावी गठबन्धनको रुपमा अघि बढाउने वा नबढाउने भन्नेबारे दल र शीर्ष नेतृत्वबीच मौखिक समझदारी भएपनि आन्तरिक मतभेद टरेको छैन । इ-कान्तिपुर