नगरप्रमुख पोखरेलको राजीनामा माग गर्दै कनकाई नगरपालिकामा प्रर्दशन

झापा, कृषि रोजगारीका लागि कोरिया गएका १६ जना युवाबाट गैरकानूनी रुपमा मेयरले रकम असुलेको भन्दै कनकाई नगरपालिकामा नेपाल विद्यार्थी संघ र तरुणदलका कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् ।

नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको अगुवाइमा नगरपालिका पुगेका उनीहरुले नगरप्रमुख राजेन्द्र कुमार पोखरेल विरुद्ध नारावाजी गर्दै नगरप्रमुखको राजीनामाको माग गरेका हुन् । नगरपालिकाको कार्यालयको मूल गेटमा भेला भएका नेविसंघ र तरुण दलका कार्यकर्ताले नगर प्रमुख पोखरेलले कृषि रोजगारीका लागि कोरिया गएका व्यक्तिहरुबाट अनाधिकृत रुपमा रकम उठाएको भन्दै चर्काे नारावाजी गरेका थिए ।
कोरिया जान ८० हजार लागत लागेपनि नगरपालिकाले प्रतिव्यक्ति ३ लाख ८० हजार रुपैयाँ उठाएको भन्दै घटनाको सत्यतथ्य वाहिर ल्याउन माग गरेका थिए ।


कनकाई नगरपालिका र कोरियास्थित गोइन्क्यू नगरपालिकाबीच सम्झौता भएको र सम्झौता बमोजिम कोरियाले कृषि मजदुर लगेको बताइएको छ ।
तर, नगरप्रमुख पोखरेलले बीड इन्टरप्राइजेट मार्फत कोरोया जाने युवाहरुबाट मोटो रकम असुलेको भन्दै नगरपालिकाको कार्यालयमा नारावाजी गरेका थिए ।
कोरिया गएका कनकाई नगरपालिका ८ का दिनेश न्यौपाने कोरियामा स्वास्थ्य परीक्षण गर्दा फेल भएपछि उनी नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसंगै घटना सार्वजनिक भएको हो ।