इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दाहाल र दुई इन्स्पेक्टर कारबाहीमा

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् ।

सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकरभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् ।

१ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको बताए । ‘घटनाबारे उजुरी परेपछि छानविन गरेका थियौँ, त्यसक्रममा कैफियत देखिएपछि कारबाही गरिएको हो,’ प्रहरी नायब महानिरीक्षक (डीआइजी) बिसीले भने ।

स्रोतका अनुसार ९ वैशाख २०७८ मा मेचीनगर नगरपालिका-८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।

घटनामा कारबाही प्रक्रिया अघि बढाउँदा डीएसपी दाहालसहितको संलग्नतामा नक्कली चालक खडा गरिएको भन्दै गृह मन्त्रालयमा सुरुमा उजुरी परेको थियो । मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय नक्साल हुँदै छानविनका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्राचार भएको थियो ।

उजुरीमा उनीहरुले ६ लाख रुपैयाँ लिएर नक्कली चालक खडा गरेको दाबी गरिएको थियो । तर, प्रदेश नं. १ प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पुरीको अध्यक्षतामा बनाएको तीन सदस्यीय छानविन समितिले आर्थिक लाभ लिएको विषय पुष्टि गर्न सकेन । ‘तर नक्कली चालक खडा गरिएको चाहिँ पुष्टि भएकाले कारबाही गर्न सिफारिस गरेका थियौँ,’ समितिका एक सदस्यले भने ।