मेचीनगरविरुद्ध मुद्धा : सार्वजनिक बाटो मासेको आरोप

मेचीनगर । उच्च अदालत इलामले मेचीनगर-७ को सार्वजनिक बाटो मासेको सम्बन्धी परेको रीटमा पहिलो सुनुवाई गर्दै मेचीनगर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश दिनेशप्रसाद यादवले मंगलबार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाईंले जानकारी दिएका छन् । मेचीनगर वडा नं ७ का प्रसाईंले मेचीनगर नगरपालिकालाई विपक्षी बनाई इलाममा रीट निवेदन दिएका थिए ।

अदालतले रीट निवेदकको माग बमोजिम परमादेश आदेश किन जारी नगर्ने भन्दै विपक्षीलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको छ । अदालतले चैत १६ गते पेसी तारेख समेत तोकेको छ । मुद्धामा निवेदकका तर्फबाट अधिवक्ता प्रेमप्रसाद बिमली र अधिवक्ता मनिराम निरौलाले बहस गरेका थिए ।

मेचीनगर नगरपालिकाले विगत लामो समयदेखि बाटो मासेको थियो । यो महेन्द्र राजमार्ग हुँदै मेचीनगर वडा नं ७ बाट सदरमुकाम भद्रपुर जोड्ने पुरानो बाटो हो । सो बाटोको विषयमा आख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत दुई पटक मुद्दा दर्ता भएको थियो ।

पहिलो पटकको मुद्दामा आख्तियारले मालपोत कार्यालय भद्रपुरलाई बाटो खुलाउन आदेश दिई नगरपालिकालाई समेत बाटो खुलाउन पत्रचार गरे पनि मेचीनगरले कुनै चासो दिएको थिएन ।

विभिन्न समयमा नगरपालिका विरुद्ध होमनाथ प्रसार्इंको अगुवाइमा प्रतापसिंह रुम्बा तामाङ, पुष्प अर्याल, दिपक तिम्सिना, रतिलाल मुन्डाले ५ पटक निवेदन समेत दिएको, सोबारे नगरपालिकाले आलटाल सधँै गर्ने गरेको र बाध्य भएर नगरपालिका विरुद्ध उच्च अदालतमा जानु परेको होमनाथ प्रसाईंले जानकारी दिए ।