काँकरभिट्टा खानेपानीद्वारा विद्यार्थीलाई सरसफाइ सामग्री हस्तान्तरण

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयको बाल कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई व्यक्तिगत सरसफाइ सामग्री वितरण अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत इटाभट्टामा रहेको आदर्श माविमा ३४१ थान, सरस्वती निमाविमा ५४ थान र मदन बस्तीमा रहेको कृष्ण प्राविका ४२ जना विद्यार्थीलाई सरसफाइ सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।

संस्थाले आफ्नो सेवा क्षेत्रभित्र रहेका १३ वटा सामुदायिक विद्यालयलाई चैत २७ गतेसम्म सरसफाइ सामग्री वितरण गरिने अध्यक्ष पराजुलीले बताए । काँकरभिट्टा खानेपानीको सेवा क्षेत्र मेचीनगर वडा नं २ देखि क्रमशः ८ नम्बर वडामा विस्तार छ । संस्थाले महसुलको एक प्रतिसत सामाजिक क्षेत्रमा लगानी गर्ने उदेश्य अनुरुप विद्यार्थीलाई सरसफाइ सामग्री वितरण गरेको हो ।

सचिव दिलिपजंग सुब्बा, कोषाध्यक्ष मीनाकुमारी कार्की, सदस्यहरु केदारजंग भट्टराई, दुर्गा भेटवाल तथा संस्थाको कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता समितिका संयोजक मीना कुमारी कार्कीले गरेकी थिइन् । संस्थाका अध्यक्ष पराजुलीले स्वास्थ्य र सरसफाइका बारेमा जानकारी गराएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख दिपकप्रसाद पोखरेलले गरेका थिए ।