मैले प्रत्यक्ष चुनाव लड्ने क्षेत्र झापा १ नै हो : महामन्त्री शर्मा

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले चुनाव लड्ने भनेको अन्यत्र कतै नभई झापा क्षेत्र १ नै भएको स्पष्ट पारेका छन् ।

स्थानीय तहलक्षित चुनावी अभियानमा एक सातादेखि गृहनगर मेचीनगरका कार्यक्रममा केन्द्रित शर्माले आफू समानुपातिकमा पनि नबस्ने र चुनाव लड्दा झापा १ बाहेक अन्यत्रबाट नलड्ने बताएका हुन् ।

‘म समानुपातिकमा पनि काभ्रे र काठमाडौँबाट पनि चुनाव लड्दिनँ,’ कार्यकर्ता भेटघाटमा शर्मा भने, ‘मैले प्रत्यक्ष चुनाव लड्ने भनेको झापा क्षेत्र नम्बर १ नै हो ।’

उनले केन्द्रमा आफू र अर्का महामन्त्री गगन थापालाई उम्मेदवार नबनाइ देश दौडाहामा कुरा भए त्यो आफ्ना लागि स्वीकार्य हुने बताए । ‘देश दौडाहामा नै कुद्नुपर्ने हो भने त्यो अलग कुरा हो,’ झापा धुलाबारीको पार्टी कार्यक्रममा उनले भने, ‘त्यसो नभए यहीँ उम्मेदवार हुने हो ।’

सङ्घीय संसद्को उम्मेदवार बन्ने कुरा पछिको भएको उल्लेख गरेका महामन्त्री शर्माले एकजुट र काङ्ग्रेसलाई सङ्कल्प गरेर स्थानीय तहको निर्वाचनमा तत्काल लाग्न आह्वान गरे । उनले प्रदेश निर्वाचनमा पनि दत्तचित्त भएर खट्न काङ्ग्रेस कार्यकर्तालाई सुझाए ।

देशभर पार्टीलाई चुनाव जिताउने महामन्त्रीको जिम्मेवारी भएको बताएका उनले त्यो भूमिका निर्वाहमा आफू किञ्चित नचुक्ने दाबी गरे । ‘महामन्त्रीको जिम्मेवारी के हो म त्यसमा सचेत छु,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा काङ्ग्रेस उम्मेदवारलाई जिताउने प्रधान कुरा हो, तपाइँहरू त्यसमा लागिहाल्नुस् ।’

पार्टीका टोल र वडासमितिका कार्यक्रमसमेत भ्याइरहेका महामन्त्री शर्माले धुलाबारीमा कार्यकर्ता भेटघाट, चारआलीमा चुनाव प्रचारप्रसार समितिको कार्यालय उदघाटन गरिसकेका छन् । पार्टी प्रवेश र उम्मेदवार छनोट बैठकमा समय खर्चिरहेका शर्माले आज (बुधबार) निर्माणाधीन चुरेमार्ग (हाल मदन भण्डारी राजमार्ग) अन्तर्गत  बुद्धशान्ति गाउँपालिका–४ को बर्ने क्षेत्रको अवलोकन गरेका छन् ।

सडक निर्माणसँगै स्थानीय हाप्पेनचोकका एक सयभन्दा बढी घर विस्थापित हुने भएपछि महामन्त्री शर्माले  आयोजना प्रमुख सुबोध देवकोटालाई भेटेर वास्तविक अवस्थाका बारेमा जानकारी लिएका छन् ।

त्यहाँ साविकभन्दा उत्तरतर्फ सडक मोडेर रेखाङ्कन गरिएको छ । जसका कारण बस्ती नै जोखिममा परेको छ । गाउँ विस्थापित हुन नदिन थोरै दक्षिणतर्फबाट सीधा पारेर सडक निर्माण गर्न सकिने विषयमा प्रमुख देवकोटासँग छलफल गरे ।

उनले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने र त्यसका लागि आजैबाट लाग्ने विश्वास दिलाए । उक्त स्थान महामन्त्री शर्माको निर्वाचन क्षेत्रसमेत हो ।