विराटले धुलाबारी र सनराइजले बोस्टर्नलाई हरायो

काँकरभिट्टा । विराट वरियर्स र सनराइज काँकरभिट्टाले रसोइ झापा सुपर लिग क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । सोमबारको निक्कै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन् ।

पहिलो खेलमा विराटले धुलावारी टाइगरलाई १८ रन पराजित गरेको थियो । दोस्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हराउँदै ४ अंक जोडेको छ ।

विराटले २० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो विवेक यादवले ३५ बल खेलेर ८१ रन बनाएका थिए । अंकित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान गरे ।

बलिङतर्फ गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडँेलले १/१ विकेट लिए ।

विराटले दिएको लक्ष्य पूरा गर्न मैदान आएको धुलाबारी सबै विकेट गुमाएर १ सय ९१ रनमा समेटियो । धुलाबारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङमा अंकित सुवेदीले ३ तथा अनिष लुइँटेलले २ विकेट झारे । विजेयी टोलीका विवेक प्लेयर अफ् दि म्याच बने ।

दोस्रो रोमाञ्चक खेलमा सनराइज सामु बोष्टर्न ६ विकेटले पराजित भयो । बोष्टर्नले २० ओभरमा ४ विकेट मात्रै गुमाउँदै १ सय ९० रनको योगफल बनायो । करणको ७६ बाहेक दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे ।

बलिङमा सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभांकर उरावले १/१ विकेट लिए ।

बोष्र्टनको शानदार योगफललाई सनराइजले १९ दशमवल ४ बलमा ४ विकेटको क्षति व्यहोर्दै जित निकाल्यो । सन्दिप ढुंगानाले ७८ रनको योगदान दिए । उनी प्लेयर अफ् दि म्याच पनि बने । प्रतियोगिताको मुख्य प्रायोजक रसोइ तोरी तेलका झापा प्रतिनिधि बजरंग गोयलले पुरस्कार हस्तान्तरण गरे । भुलाल दंगाल र फिरदोज अंसारी २८/२८ तथा शुभांकर उरावले २१ रन जोडे ।

बोष्टर्नका बलरहरु विधान गोश्वामी र राहुल पाठकले २/२ विकेट झारे । मंगलबारको पहिलो खेल भद्रपुर राइजिङ किङका विरुद्ध धुलावारी टाइगर र दोस्रो खेल बोष्टर्न व्लाष्टरका विरुद्ध विराट वरियर बिच हुने आयोजकले जनाएको छ ।