मेयर सूचीबाट बाहिरिए प्रदेश सांसदद्वय कार्की र बुढाथोकी

मेचीनगर । एक नम्बर प्रदेशका सांसदहरू एकराज कार्की र गोपालचन्द्र बुढाथोकी नगरपालिका प्रमुख पदको आकांक्षी सूचीबाट बाहिरिएका छन् ।

नेकपा एमालेले प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेपछि उनीहरू सूचीबाट बाहिरिएका हुन् । झापाको बिर्तामोडबाट कार्की र मेचिनगरबाट बुढाथोकीको नाम स्थानीय कमिटीले सिफारिस गरेको थियो ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको सचिवालयस्तरको बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको सचिवालय सदस्यका एक स्वकीय सचिवले जानकारी दिए ।

‘सबै कुरा अहिले नभनौं । प्रदेश सांसदलाई पालिकाको उम्मेदवार नबनाउने निर्णय भयो,’ उनले भने ।

प्रदेश सांसद बुढाथोकीले मेचीनगर नगरपालिका र कार्कीले बिर्तामोड नगरपालिका मेयरका लागि पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा मेचीनगरमा प्रदेश सांसद बुढाथोकी पहिलो भएका थिए भने बिर्तामोडमा प्रदेश सांसद कार्की दोस्रो भएका थिए । त्यसैका आधारमा उनीहरूको नाम सिफारिस भएको थियो ।

सचिवालयको यो निर्णयले झापामा एमालेका कार्यकर्ता उत्साहित भएका छन् ।

‘एकै व्यक्तिलाई दुई ठाउँ र पटकैपिच्छे अवसर ? यो मुनासिव हो ?’ भर्खरै एमाले छाडेका डिल्लीराम घिमिरेले भने, ‘जे भयो निर्णय उचित भयो ।’

प्रदेश सांसद बुढाथोकीको नाम स्थानीय कमिटीले जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरेपछि एक साताअघि मात्र पत्रकार सम्मेलन गरेर घिमिरेले रूँदै रूँदै पार्टी छाडेको घोषणा गरेका थिए ।