दमक उपप्रमुखमा एकीकृत समाजवादीबाट युवा उम्मेदवार घिमिरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर भन्ने गरिएको दमकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय निर्वाचनमा सशक्त भुमिका खेल्ने रणनीति बनाएको छ ।

नगर कमिटीकै सिफारिसमा सो पार्टीको जिल्ला समितिले यस अघि दमक नगर प्रमुख, उपप्रमुख पदमा नै उम्मेदवार तोकेको भएपनि आवश्यकताका आधार भन्दै एकीकृत समाजवादीले नगर उपप्रमुख र केही वडाहरुमा उम्मेदवारी दिने अन्तिम तयारी गरेको हो । नगर उपप्रमुखमा सो पार्टीले युवा बिद्यार्थी माझ लोकप्रिय युवा नेता महेश घिमिरेलाई उम्मेदवार बनाउने निधो गरेको छ ।

नगर उपप्रमुख सहित दमकको केही वडाहरुमा वडा अध्यक्ष र सदस्यहरुमा भोली (सोमबार) उम्मेदवारी दर्ता गरिने पार्टीका नगर सचिव अनिलदेव राईले बताए ।

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका नेता घिमिरेले तत्कालिन नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियूको दमक बहुमुखी क्याम्पस, क्षेत्रीय कमिटिी, जिल्ला कमिटी झापा हुदै केन्द्रीय कमिटीमा समेत जिम्मेवारी निर्वाह गरेका छन ।

दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव समेत भइसकेका नेता घिमिरे दमकको सहकारी क्षेत्रका समेत अनुभवी हुन । उनी दमकको कलश साकोसका अध्यक्ष पनि हुन । घिमिरेसंगै सो पार्टीले दमकको २ नम्बर वडाध्यक्षमा युवा व्यवसायी नेता टिका प्रसाईलाई उम्मेदवार बनाउँदैछ भने वडा नं १० र ८ मा पनि उम्मेदवारको टुंगो लगाइसकेको जनाइएको छ ।