विवादमै नआए के केशव स्थापित ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको उमेदवारी मनोनयन दर्ताका लागि प्रमुख दलहरु सोमबारमात्रै प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगे ।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि मनोनयन दर्ताको समय तोकेको भए पनि प्रमुख प्रतिपक्षी दलका उमेदवारहरु सोमबार मात्रै सभागृह पुगे ।

नेकपा एमालेको तर्फबाट मेयरको उमेदवार बनेका केशव स्थिापित र उपमेयरको उमेदवार बनेकी सुनिता डंगोल तामझामसहित पुगेका थिए ।

२०५४ सालमा काठमाडौंको मेयर बनेका स्थापितलाई एमालेले पुनः मेयरको उमेदवार बनाएको छ । त्यस्तै उपमेयर सुनिता डंगोललाई बनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्यबाट आइतबार राजीनामा दिएका स्थापित उमेदवारी मनोनयमा जाँदा निकै उत्साहित देखिए ।

मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग उनले बाटोमा आफ्ना योजना नसुनाउने बताए । “होटेल एलो प्यागोडामा हाम्रो वार रुम बन्दैछ । बाटोबाटोमा योजनाको कुुरा नगर्नु के । गहनता हुन्छ नि !,” उनले भने,“ भोलि वार रुममा आउने सबै छर्लंग हुन्छ ।”

स्थापितले आफूले २०५४ सालमा नै ८४ हजार भोट ल्याएकाले अबको चुनाव पनि आफूले जित्ने जिकिर गरे ।

उनले गठबन्धनका दलहरुको भोटको हिसाबकिताबसमेत सुनाए ।

“नेपाली कांग्रेसको पञ्चायत कालदेखि स्थायी भोट ४५ हजार ६ सय । पूर्वनिर्वाचनमा माओवादीका साथीहरुबाट आएका साथीहरुको ७ हजार । त्यो उतै गयो भने ५२ हजार । एकीकृत समाजवादीबाट गयो भने ५५–५८ हजार होला,” उनले जिकिर गरे,“५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे के तुलना गर्नु ? त्यसैले के तुलना गर्न । सकियो क्या ! गेम इज ओभर ।”

त्यतिबेला आफूलाई युवाले ८४ हजार ६ सय भोट पाएको र अहिले मतदाता बढेकाले आफूले गठबन्धनको भन्दा दोब्बर मत समेत ल्याउने दाबी गरे ।

स्थापित उत्साहित रुपमा बोलिरहँदा उनीसँगै मनोनयनका लागि गएका कार्यकर्ताहरु भने धेरै नबोल्न सम्झाइहेका थिए ।

“क्यामेराको अगाडि आज धेरै नबोल्नुस् क्या,” एक कार्यकर्ताले उनको कान फुेके ।

स्थापितलाई महिलामाथि दुर्व्यवहार गरेको आरोप पनि लागिरहेको छ । सञ्चारकर्मीको प्रश्नमा उनले विवादमा नआए केशव स्थापित नै नहुने भन्दै जवाफ दिए ।

“मजत्तिको व्यक्तिमा इसु उठेन भने केशव स्थापित नै भएन । विवादमा नै नआउनु नि केशव स्थापित हुन्छ ? आइरहनुपर्यो क्या,” उनले भने ,“५५० मुद्दा लागेको बेला ५ मुद्दा थपिबक्सियोस् भन्ने मान्छे हो म ।”बाह्रखरी