अग्रगामी गठबन्धन आतंकले झन प्रतिगामी केन्द्र बन्दै ओली

समाचार विश्लेषण

केपी ओलीले नेतृत्व गरेको नेकपा(एमाले) झनपछि झन प्रतिगामी, सिद्धान्तहीन र मौकावादी असफल राजनीतिक यात्रामा लम्किएको छ। आफुले हठाथ थोपरेको प्रतिगमनलाई परास्त गर्न बाध्यतामा बनेको वर्तमान सरकार गठबन्धनलाई स्वार्थहरूको अप्राकृतिक गठजोड भन्ने ओली आफैं भने स्थानीय चुनावमा सर्मनाक हार्ने भयले इतिहासले त्याज्य ठहराएका कुँडाकर्कटहरूलाई च्याप्दै हिंडेका छन्।

सरकार गठबन्धनका पाँचदलले स्थानीय चुनावमा तालमेल, सहकार्य र मित्रवत प्रतिस्पर्धाको केन्द्रीय र स्थानीय खाका बनानाएर उम्मेद्बारी मनोनयन गर्दा एमालेमा भने त्यसले घनघोर आतंक निर्माण गरेको छ। त्यही आतंकको प्रतिफल हो( अध्यक्ष हराइएपछि एउटा चोइटोका रूपमा राप्रपाबाट उछिट्टिएका कमल थापा, बिबादित क्रिश्चियन मिसिनरीका रूपमा बदनाम एकनाथ ढकाल, अन्तर्यमा अझै मधेस टुक्र्याउने लालसा बोकेको सिके राउत, जीवनभरी केबल आफ्नै मात्र भलाई हेर्ने हृदयेश त्रिपाठी र भ्रष्ट छबिका कारण कांग्रेसले कुनै जिम्मेवारी नदिएपनि आफुलाई नेता भनाईरहन रहर गर्ने गोबिन्दराज जोशी लगायतसंगको ओलीको सहकार्य।

तराई(मधेसमा) झन कमजोर एमाले महन्त ठाकुर(राजेन्द्र महतो)को लोसपासंग समेत नजिकिएर केही हात लागिहाल्ला कि भन्नेमा छ। मधेशमा ओली, महन्त(राजेन्द्र र सिकेको गठजोड भयोभने सारमा त्यो मधेसबिरोधीहरूकै गठबन्धन हुनेछ। मधेसलाई कहिल्यै अधिकार दिन नचाहने ओली, संधै भारतीय संस्थापन स्वार्थको नजिक भएर मधेसलाई स्थिर र बिकसित हुन नदिने महन्त(राजेन्द्र) र मधेसनै टुक्र्याउने भन्दै सामरिक द्वन्द्व बचाइराख्न चाहने राउत तीनैपक्षको मधेस दाउपेचलाई मधेसी जनताले नचिनेका छैनन्। यसैपनि कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी एक्लाएक्लै पनि यी भन्दा ठुला र प्रभावकारी शक्ति हुन् मधेसमा।

चुनाव बिषयकै कारण चरम पार्टी अन्तरसंघर्षमा रहेको विप्लव नेकपासंग समेत ओलीले तालमेल गर्ने हल्लाले बजार गर्माएको छ। जसरी कमल थापा र एकनाथ ढकाललाई सूर्य चिन्हको सौदा गरेर एमाले निकट बनाइयो, विप्लवलाई पनि त्यही बाटोबाट चुनावी एकता गर्न ओलीले फकाएको फकाएकै छन। विप्लव पक्षधर केन्द्रीय सदस्य ओमप्रकाश पुनले त ओली बाहेक अरुसंग तालमेलको बिकल्प नभएको भन्दै सुदुरपश्चिममा गतिलो सहकार्यको गृहकार्य गरिएको बताएका छन्। विप्लवले उठाएका उमेदवार स्वतन्त्र हैसियतका भएकाले चुनावको अघिल्लो दिनसम्म तालमेलले मुर्तता लिने बताईएको छ। त्यसो हो भने ओलीको प्रतिगामी चुनावी गठबन्धनमा विप्लवको समेत नाम जोडिनेछ।

एकीकृत जनक्रान्तिको नारामा अगाडि बढेका विप्लव स्वयंलाई नै क्रान्तिकारी राजनीतिको उल्टो र सुल्टो बाटो थाहा छैन कसरी भन्नू, तर विप्लबका पछिल्ला निर्णय र व्यबहारहरू आत्मघाती प्रतित हुँदैछन्। पार्टी खुला भएको एकबर्षसम्म कानमा तेल हालेर बस्ने अनि चुनावको मुखमा अकस्मात पार्टी दर्ता गर्न रहर गर्ने, चुनावमा भाग नलिइ देशभक्त र क्रान्तिकारीहरूलाई जिताउन सहयोग गर्ने भनेर निर्णय गर्ने तर आफ्ना गुटका र नजिककाहरूलाई उमेदवार खडा गर्ने, अनि चुनावकै रहर हो भने देशभक्त र क्रान्तिकारीहरूसंग सहकार्यको हात बढाउनु सट्टा प्रतिगामी ओलीतिर लहसिने। बिचित्र देखिंदैछ।

विप्लव र खड्गबहादुर बिश्वकर्माका समर्थकहरू ओलीको सुर्य लिएर प्रतिगामी गठबन्धन नाममा भोट माग्न आएभने अचम्म मान्नुनपर्ने स्थिति देखिंदैछ। तर नेकपाको बहुमतमा रहेका हेमन्तप्रकाश ओली(धर्मेन्द्र बास्तोलाहरू) पार्टी निर्णय अनुसार चुनावमा देशभक्त र क्रान्तिकारीहरूलाई सहयोग गर्ने कुरामा नै जोड दिईरहेका छन्। पछिल्ला दिनमा देखिएको उनीहरूको राजनीतिक पहलले त्यही कुराको पुष्टि गर्दछ। उनीहरूको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छुट्टै र प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग संयुक्त भेट भएको छ।यसर्थ पनि सिङ्गो नेकपालाई प्रतिगमनको सहयोगी बनाउने ओली आकांक्षा पुराहुने अवस्था देखिएको छैन।

कुनैपनि गठबन्धनको राजनीतिक औचित्य हुनुपर्छ। आफुलाई कम्युनिष्ट भन्नेहरू तथा राजावादी, राष्ट्रघाती, प्रमाणित भ्रष्ट, बिबादित साम्प्रदायिकहरू कुन उद्देश्यले एकठाउँ हुन्छन् होला?हुनत ओलीले आफुलाई रामभक्त स्वीकार गरिसकेका छन। रामभक्तपथमा अगाडि बढ्दा कमल थापाहरूसंग पार्टीको चुनाव चिन्हमाथिको सौदा एक सामान्य प्रकृया हो। अहिले ओली गठबन्धनमा जोडिएका बिबादास्पद मिशिनरी एवं पूर्वमन्त्री एकनाथ ढकालले तीनबर्ष अगाडि अन्तराष्ट्रिय सम्मेलनका नाममा एउटा बिबादित कार्यक्रम गरेका थिए। नेपालमा त्यो अनावश्यक सम्मेलनको औचित्य र त्याहाँ होलीवाइन खाएकोमा व्यापक आलोचना भयो। त्यो बिबादबाट बच्न माधव नेपालले उक्त कार्यक्रमका लागि आफुलाई फसाएको दाबी ओलीले गर्ने गरेका थिए। तर एकनाथ ढकाल र परिवार दलनै ओलीको सुर्य चिन्ह मुनी भएपछि एकनाथ कस्का मान्छे रहेछन्, कुन उद्देश्यका मान्छे रहेछन् भन्ने समेत पुष्टि भएको छ। कमल थापा र एकनाथसंग मिलेर एमालेले जित्ने कहाँ हो, कमल(एकनाथहरूले जित्ने कहाँ हो कसैलाई थाहा छैन। स्वार्थका लागि रामभक्त पनि हुनसक्ने, जिसस भक्त पनि हुनसक्ने ओलीको खुबीलाई चाहिँ मान्नैपर्छ।

भ्रष्टाचार काण्डकै कारण कांग्रेसबाट एक्लिएका गोबिन्दराज जोशीका छोरालाई एमालेले बिनासर्त अंगालो हाल्नु र तनहुँका चारवटा पालिकामा एमाले(जोशी) गठबन्धन बन्नु राजनीतिमा ओली नैतिकहीनताको पराकाष्ठा हो।

संविधान बचाउने स्वाभाविक अग्रगामी गठबन्धनसंग आँत्तिएर पुरातन कुँडाकर्कटलाई एउटै प्रतिगामी केन्द्रमा आवद्ध गर्ने ओली अभियानमा कतिपय पार्टीगत नेताकार्यकर्ता र जनप्रतिनिधिहरू नवप्रवेशीको रुपमा सामेल देखिन्छन्। तर ओलीले जजसलाई भित्र्याएका छन्, जनप्रतिनिधि भए तिनलाई तत्तत् वा त्यसभन्दा माथिल्लो पदको आश्वासन दिइएको छ भने नेताकार्यकर्ता भए राज्य सुबिधाको पदको। आजको दिनमा आर्थिक हितको स्वार्थ नराखी एमालेमा छिर्ने को होला? तर एमालेमा जो छिरेपनि, जसले गठबन्धन गरेपनि उसका लागि यो उल्टो बेला र उल्टो बाटो हो। जनताले ओली प्रतिगमनको हिसाबकिताब मात्रै राखेका छैनन्, झण्डै दुईतिहाई कम्युनिष्ट बहुमतको पार्टी फुटाइएको, एमाले समेत फुटाइएको र भएकै एमाले पनि आन्तरिक रुपमा बिभक्त भएको हिसाबकिताब पनि राखेका छन्। चौतरी पोष्ट अनलाइन